काठमाडौं, पुस १७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कान्तिपुर मिडिया पब्लिकेसनविरूद्ध मुद्दा हाल्नुभएको छ । लामिछानेका वारेस अधिवक्ता अफताब आलमले मंगलबार जिल्ला अदालत काठमाडौंमा कान्तिपुरविरूद्ध गाली बेइज्जतीको मुद्दा दर्ता गरेको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिनुभयो । ‘कान्तिपुर पब्लिकेसनले आफ्नो गाली बेइज्जती हुने गरी समाचार लेखेको भन्दै उहाँले मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ बमोजिम सजाय र क्षतिपूर्तिस्वरूप सांकेतिक रूपमा १५१ रुपैयाँ माग गर्नुभएको छ,’ उहाँले भन्नुभयो । उहाँकाअनुसार कान्तिपुर पब्लिकेसनले गाली बेइज्जतीसम्बन्धी कसुरको दफा ३०५ र ३०६ बमोजिम कसुर गरेकाले ३०५ अनुसारको सजाय मागदाबी गरिएको हो।
कसैले कसैको गाली गरेरगराएमा एक वर्षसम्म कैद सजाय वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ। साथै कसैले कसैको बेइज्जती गरेरगराएमा दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ।
तर विद्युतीय माध्यमबाट बेइज्जती गरे÷गराएमा थप एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म कैद सजाय हुनसक्ने मुलुकी अपराध संहितामा उल्लेख गरिएको छ।बेइज्जती गरेको ठहरियो भने मनासिव क्षतिपूर्ति र त्यस्तो कसुरदारलाई मुद्दामा लागेको खर्च समेत भराउनुपर्ने कानुनी व्यवस्था छ।
लामिछानेले कान्तिपुर पब्लिकेसन प्रालिका अध्यक्ष कैलाश सिरोहिया, प्रबन्ध निर्देशक सम्भव सिरोहिया, प्रधान सम्पादक उमेश चौहान, इकान्तिपुर र पत्रिकालाई विपक्षी बनाएर मुद्दा दायर गर्नुभएको छ । पछिल्लो समय कान्तिपुरले पोखरा, चितवन, बुटवल लगायतका सहकारीहरूमा सर्वसाधरणले जम्मा गरेको पैसा ग्यालेक्सी टिभीका अध्यक्ष जिबी राईले ठगी वा अपचलन गरेर फरार भएको समाचारहरू लेखेको थियो। त्यसमा ग्यालेक्सीका तत्कालीन एमडीसमेत रहेका लामिछानेको संलग्नता रहेको भन्दै समाचारहरू प्रकाशन गरेको थियो। त्यसविरूद्ध रविले आफ्ना फेसबुक स्टाटसहरूमार्फत् प्रतिवाद गर्दै आउनुभएको थियो । मुद्दा दर्ता गरेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै लामिछानेले आफ्नो बदनाम गरेकाले कानुनी उपचारमा गएको उल्लेख गर्नुभएको छ । ‘मेरो नाम राखिएरदेखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु। म लोकतन्त्रको बलियो आधारमध्य एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु। सहकारी पीडितहरूको पीडामा सदनमा भएका मध्य सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन। यो मेरो बचन भो,’ उहाँले लेख्नुभएको छ, ‘मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरूद्ध कानुनी उपचारमा गएको छु।’













प्रतिक्रिया दिनुहोस्