जनता टाइम्स

२ आश्विन २०७६, बिहीबार १४:३६

यसकारण रोकियो प्रधानमन्त्री ओलीको सम्बोधन


काठमाडौं, असोज २ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट देशवासीका नाममा गर्ने भनिएको सम्बोधन रोकिएको छ। आज बिहान प्रधानमन्त्री ओलीले दिउँसो साढे २ बजे गर्ने भनिएको सम्बोधन विशेष कारण स्थगित भएको निजी सचिवालयले जनाएको छ ।

संविधान दिवसको अवसरमा भोलि शुक्रबार सम्बोधन गर्ने कार्यक्रम तय भएकाले आजको सम्बोधन स्थगित भएको हो । आज प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधनसँगै दुबै सदनमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम तय भएको थियो । आज बिहान कार्यसूची तय भएपछि नेकपाको सचिवालय बैठकसमेत स्थगित भएको थियो । प्रधानमन्त्रीसहित अन्य नेताको व्यस्तताका कारण सचिवालय बैठक स्थगित भएको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।

आज बिहान ९ बजे बस्ने भनिएको बैठकमा संगठनात्मक एकता टुंग्याउने तयारी थियो। नेकपामा केन्द्रीय निकायमा जिम्मेवारी बाँडफाट गर्न बाँकी छ। केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च, प्रवास कमिटीलगायतमा जिम्मेवारी तोकिएको छैन। यस्तै बैठकमा नेकपाको प्रदेश २ मा देखिएको विवादबारे पनि छलफल गर्ने तयारी थियो। ती दुवै कार्यक्रम आज स्थगित भएको हो ।