जनता टाइम्स

१९ पुष २०८०, बिहीबार १९:१४

केएमसी छिर्न नपाएको झोकमा डा. दाहालको सडक आन्दोलन, कलेजले भन्यो,‘उहाँलाई हामी पढाउँन सक्दैनौं’


काठमाडौं, १९ पुस । डा. विशाद दाहाल आफूमाथिको कार्वाही फिर्ता हुनुपर्ने माग राख्दै आन्दोलनमा होमिनुभएको छ । आज पनि आवासीय चिकित्सकहरुले सहपाठी दाहालको कारवाही फुकुवा हुनुपर्ने भन्दै सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिडेट अगाडीको मुल सडकमा धर्ना दिएका छन् । यसअघि डा. दाहाललाई केएमसी परिसर भित्र छिर्न खोज्दा मुल गेटमा रहेका सुरक्षाकर्मीले रोकेका थिए । यो क्रममा सामान्य झडपको स्थिति उत्पन्न भएको थियो ।

डा. दाहालले भन्नुभयो,‘भित्र छिर्न खोज्दा सामान्य झडपको अवस्था बन्यो । अहिले हामी सडकमा आन्दोलन गरिरहेका छौँ ।’ यसअघि केएमसीले डा. दाहालमाथि डिसिप्लिनरी एक्सन लिइएको भन्दै गत १२ पुसदेखि लागू हुने गरी एक महिनाका लागि निलम्बन गरेको सूचना प्रकाशित गरेको थियो ।केएमसीको सो निर्णय विरुद्ध काठमाडौँ मेडिकल कलेज स्कुल अफ मेडिसिनले निलम्बन गर्ने निर्णय स्थगन गर्न निर्देशन दिएको थियो ।

केएमसीका प्रिन्सिपल प्रा.डा. रतिन्द्रनाथ श्रेष्ठले भने कलेजको आन्तरिक मामिलामा डिन अफिस लागेको भन्दै उहाँले काटेको निर्देशनात्मक पत्र डस्टविनमा फ्याकिदिने बताउनुभएको थियो । यसैबीच केयुका डीन प्रा.डा. मनोज हुमागाँई र केएमसीका अध्यक्ष डा. सुनील शर्माबीच यसविषयमा चर्काचर्की भएको छ । सांसदसमेत रहनुभएको केएमसी अध्यक्ष शर्माले डा. दाहाललाई आफ्नो कलेजमा पढाउन नसक्ने बताउनुभएको हो ।

यता हुमागाईँले भने त्यसो गरेको खण्डमा केएमसीले आगामी सेसनमा पीजी सिट प्राप्त नगर्ने चेतावनी दिनुभएको छ । केएमसीका प्रिन्सिपल डा. श्रेष्ठले विवादको विषयमा अध्यक्ष र डीनबीच बुधबार छलफल भएको बताउँदै डा. दाहाललाई आफूहरुले नपढाउने र केयुको जिम्मा लगाइदिने बताउनुभयो ।

‘हामीले भनेको नमान्ने विद्यार्थीलाई कार्वाही त गर्नैपर्छ । तर कारवाही नगर विद्यार्थीले भनेको मान भनेर केयुले भन्छ भने हामीले यस्ता विद्यार्थीलाई हामी पढाउन सक्दैनौँ तिमी नै पढाउ भनेर जिम्मा लगाईदिने हो । डा. विशदको विषयमा हामी सोही तयारीमा छौँ । डीनले हामीलाई त्यसो गरिएको खण्डमा पीजीका आगामी सिट पाउदैनौँ भन्नु भएको छ । त्यसमा पनि हामीले ओके भनेका छौँ । हामीमाथि जे दबाब दिए पनि डिसिप्लिनमा कम्प्रमाइज हुँदैन । यो कलेजको आन्तरिक मामिला हो, नीति हो,’ प्रिन्सिपल श्रेष्ठले भन्नुभयो ।

केएमसीमा पढ्ने डाक्टरहरु १० वर्षदेखि निरन्तर रुपमा निःशुल्क स्वास्थ्य शिविरमा गइरहेको अस्पताल प्रवन्धक नारायण प्रसाद दाहालले बताउनुभयो । उहाँले भन्नुभयो,‘सबै विद्यार्थीहरु वर्षेनी एक महिना अनिवार्य फिल्डमा खट्नैपर्ने नियम छ । उहाँहरुको ३ वर्षे कोर्ष हो र उहाँहरु निःशुल्क स्वास्थ्य शिविरमा जाँदै पनि आउनुभएको छ । अन्य साथीहरु सबै फिल्डमा खटेपनि डा. विशद जानुभएन ।’ उहाँले थप्नुभयो,‘अहिले हामी वार्ताको क्रममा छौं । यो चाँडै टुंगिन्छ । सहमतिको अन्तिम विन्दुमा पुगेका छौं भोली बिहानसम्ममा वार्ता टुंग्याइन्छ ।

डा. दाहालले भने आफ्नो पढाईलाई नै ह्याम्पर पर्ने गरी दिनहुँ शिविर राख्ने गरेको र विद्यार्थीमाथि दबाब सिर्जना गरेर काम गराउने गरेको भन्दै आफूले त्यसको विरोध गरेको बताउनुभयो ।