जनता टाइम्स

२१ पुष २०८०, शनिबार १८:३५

सरकारले सर्लाही घटनाका मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिने


काठमाडौं, २१ पुस । सर्लाहीको बरहथवामा जयशंकर साहको ज्यान गएको विषयमा छानबिन गर्न सरकारले छानबिन समिति गठन गर्दै मृतकका परिवारलाई राहत दिने निर्णय गरेको छ । हिजो भएको झडपमा साहको ज्यान गएको सम्बन्धमा सत्यतथ्य छानबिन गरेर सात दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो ।

समितिमा नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, सरकारले मृतक जयशंकर साहका परिवारलाई १० लाख रुपैयाँ राहत प्रदान गर्न पनि निर्णय गरेको छ । नगर अस्पतालको स्वामित्व विवादमा हिजो भएको प्रदर्शनका क्रममा भएको झडपमा परी साहको ज्यान गएको थियो । स्थानीयले गोली प्रहार गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै शव उठाउन नदिएर आन्दोलन गरिरहेका छन् । साहको शव घटनास्थलमै रहेको छ ।