जनता टाइम्स

२२ पुष २०८०, आईतवार १९:३५

स्वास्थ्यमन्त्री बस्नेतको खुलासा : महिनाको ३ लाख तलब दिँदा पनि दुर्गममा जान इच्छुक चिकित्सक र स्वास्थ्यकर्मी भेटिएनन


काठमाडौं, पुस २२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्तराष्ट्रियस्तरको स्वास्थ्य सम्मेलन आयोजना गर्ने प्रस्ताव गरेको छ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आगामी चैत २५ गते हुने अन्तराष्ट्रिय स्वास्थ्य दिवसको अवसर पारेर अन्तराष्ट्रिय सम्मेलनको आयोजना गर्ने प्रस्ताव अघि बढाइएको जानकारी दिनुभयो ।

मन्त्री बस्नेतले सवै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पु¥याउनका लागि अन्तराष्ट्रिय सम्मेलन गरेर आर्थिक सहयोग जुटाउनका लागि अपिल गरिने बताउनु भयो । कान्ति बाल अस्पतालको ६२औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयले अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सम्मेलन आयोजना गर्ने प्रस्ताव मन्त्रीपरिषदमा लगिसकेको बताउनु भयो ।

‘विकास साझेदार संस्था, सबै शुभेच्छुक दातृ निकायलाई बोलाएर रंगशालमा अन्तराष्ट्रिय सम्मेलन गरौं । हाम्रो स्वास्थ्य क्षेत्रको स्वास्थ्यमा भएका काम, चुनौती र गर्नसक्ने कामको बारेमा बताऔं,’ मन्त्री बस्नेतले भन्नुभयो, ‘त्यसबाट अबौं पैसा उठ्न सक्छ । उठेको पैसाले उपकरण खरिद र भवन निमार्ण गरौं ।’ उहाँले आधारभूत अस्पतालका लागि कर्मचारीको न्यूनतम दरबन्दीको व्यवस्थापन चाहिँ सरकार आफैंले गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा मन्त्री बस्नेतले महिनाको तीन लाख रुपैयाँ तलब दिँदा पनि दुर्गममा सेवा दिन जान इच्छा भएको डाक्टर नभेटिने गरेको यथार्थ सुनाउनु भयो । ‘महिनाको ३ लाख रुपैयाँसम्म तलब दिँदा पनि दुर्गममा सेवा दिन जान इच्छा भएको चिकित्सक तथा स्वास्थ्यकर्मी भेटिदैन, सब जना सुगम मात्रै ताक्नु हुन्छ । म आएपछि मात्रै ८ सय जनाको काज फिर्ता गरेको छु,’ बस्नेतले भन्नुभयो ।

उहाँले चिकित्सा शिक्षा ऐनको केही साँघुरो व्यवस्थाले गर्दा अबको ५ वर्षमा नेपालमा डाक्टर, नर्सलगायतका स्वास्थ्यकर्मी नपाइने अवस्था आउने खुलासा पनि गर्नुभयो । ‘चिकित्सा शिक्षा ऐनको केही साँघुरो व्यवस्थाले गर्दा अबको ५ बर्षमा नेपालमा डाक्टर, नर्स नै नपाउने जोखिम बढेको छ । त्यसैले अब जसरी पनि चिकित्सा शिक्षा ऐनको केही व्यवस्था संशोधन गर्नुपर्ने अवस्था आएको छ’ मन्त्री बस्नेतले भन्नुभयो ।

उहाँले अव सरकारले नै डाक्टर र नर्स उत्पादन गरी विदेश पठाएर धेरै पैसा कमाउन ध्यान दिनुपर्ने योजना समेत सुनाउनु भयो । ‘हामीले विदेश पठाउने नै नेपाली ३० हजार खानलाई खाडीमा किन पठाउने ? डाक्टरले १८–२० लाख पाउँछ, नर्सिङ जसले ८-१० लाख महिनाको लिन सक्नुहुन्छ । धेरै डाक्टर, नर्स पढाउँदा ठूलो स्रोत आउँछ । इज्जत,सम्मान मान, प्रतिष्ठा हुन्छ,’ मन्त्री बस्नेतले भन्नुभयो ।

मन्त्री बस्नेतले सरकारी अस्पतालमा एक सयदेखि ३ सय वेडका अस्पतालमा नर्सिङ र पारामेडिक्स र ३ सय वेडभन्दा माथिका अस्पतालमा एमबीबीएस अध्ययन गराउन दिने व्यवस्था लागू गर्न चिकित्सा शिक्षा आयोगलाई समन्वयका लागि पत्र लेखिसकेको जानकारी पनि दिनुभयो ।