जनता टाइम्स

२३ पुष २०८०, सोमबार १७:१२

लागूऔषधसहित ५ जना पक्राउ


काठमाडौ‌ं, २३ पुस । देशका विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् । चितवनको माडी नगरपालिका–२ घर भई भरतपुर महानगरपालिका-३ बेलचोकस्थित इनवेरियल कुखुरा मासु पसल संचालन गरी बस्ने ३४ वर्षीया दुर्गा अधिकारीलाई अवैध लागूऔषध गाँजा करिब १३ किलोसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अधिकारीले आफ्नै पसलमा गाँजा बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । कञ्चनपुरको भिमदत्त नगरपालिका–३ तिलकपुरबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ५ किलो १ सय ४ ग्रामसहित बझाङ केदास्युँ गाउँपालिका–६ बस्ने ६३ वर्षीय नर बहादुर धामीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । कैलालीको धनगढी उपमहानगरपालिका–१३ शिवटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय २० मिलिग्रामसहित सोही नगरपालिका–१३ बस्ने शंकर राना समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बर्दियाको बढैयाताल गाउँपालिका–८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्रामसहित सोही गाउँपालिका–५ हलन चोक बस्ने १९ वर्षीय बिशाल विकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालीकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।