जनता टाइम्स

२४ पुष २०८०, मंगलवार १३:१२

मानव–हात्ती द्वन्द्वका घटनामा वृद्धि


झापा, २४ पुस । पूर्वी नेपालको झापा र मोरङ जिल्लामा यस वर्ष मानव–हात्ती द्वन्द्वका घटनामा वृद्धि भएको छ । आहारका लागि खाद्य बालीको खोजी गर्ने हात्ती र यसलाई जोगाउने मानवीय प्रयत्नका कारण हिंसात्मक द्वन्द्व निम्तिने गरेको विज्ञहरु बताउँछन् ।

जिल्लामा २०७९ वैशाखदेखि हात्तीको आक्रमणबाट १२ जनाको मृत्यु र १३ जना अङ्गभङ्ग ९घाइते० भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । सोही अवधिमा छवटा हात्ती मारिएका छन् ।

हात्ती आक्रमणका घटना अध्ययन गर्दा बिहानी पैदलयात्रा ९मर्निङ वाक० गर्ने, जङ्गल छेउछाउ घाँसदाउरा काट्ने र जङ्गलभित्र निगुरो र च्याउ टिप्न जाने मानिस निशानामा परेको देखिन्छ । कचनकबल–७ का ८२ वर्षीय वृखबहादुर राईको एक वर्षअघि हात्तीको आक्रमणमा दिनदहाडै मृत्यु भएको थियो । दीपज्योति सामुदायिक वनमा निगुरो टिप्न जाँदा उहाँलाई हात्तीले आक्रमण गरेको थियो ।

गत असारमा भद्रपुर–७ का ५३ वर्षीय गिरेन कर्मकारलाई बिहानको ४ बजेतिर देउनिया खोलाको बगरमा हात्तीले खेदाएर मार्यो । उहाँ हल्दिबारीको चिया बगानमा जङ्गली च्याउ खोज्न जाँदा हात्तीको आक्रमणमा पर्नुभयो । जिल्लाको उत्तरी चुरे भागबाट दक्षिणको जलथल प्राकृतिक वन क्षेत्र हात्तीको पुरानो विचरण क्षेत्र पर्दछ । यहाँ भारतको आसामबाट हात्तीको बथान बर्सेनि आउने गर्छन् भने डेढ दर्जनभन्दा बढीको सङ्ख्यामा रहेका रैथाने हात्तीको बासस्थान नै यहीका जङ्गल भएको छ ।

हात्तीसम्बन्धी अध्येता झापा र मोरङको धेरै भूभाग कैयन पुस्तादेखि हात्तीको विचरण क्षेत्र रहेको मान्छन् । हात्तीको पुरानो बासस्थान भनिएको उहिलेको जङ्गली ठाउँमा अहिले मानव बस्ती बाक्लिइसकेको छ । बितेको ६० वर्षमा जङ्गल मासिएर मान्छेको बस्तीले ढाकिसकेको अवस्था छ । तीक्ष्ण स्मरण शक्तियुक्त प्राणी भएको हुँदा हात्तीले आफ्नो पुर्खादेखिको विचरण स्थानमा स्वतन्त्रतापूर्वक डुलफिर गर्ने चाहना राख्ने गरेको हात्ती अध्येता शङ्कर लुइँटेल बताउनुहुन्छ । “पुरानो विचरण क्षेत्रमा अहिले मानव बस्तीले ढाकेको देखेर हात्तीमा क्रोध उत्पन्न हुन्छ”, लुइँटेल भन्नुहुन्छ, “यसकारण हात्तीले बस्ती पसेर घर भत्काउने गर्दै आएको छ ।”

हात्तीले आफ्नो पुरानो विचरणस्थल अतिक्रमण भएकोमा भन्दा बढी आफ्नो आहारमा मानिसले अवरोध पुर्याएको ठान्दा हिंस्रक व्यवहार प्रदर्शन गर्ने उहाँ बताउनुहुन्छ । हात्ती आहारको खोजीमा गाउँ पसेको बेला मर्निङ वाकमा हिँडेका, निगुरो र च्याउ टिप्न गएकाहरु हिंस्रक आक्रमणको निशानामा पर्ने गरेका छन् ।

हल्दिबारी–२ वडा कार्यालयका कर्मचारी पताल राजवंशीको यही पुसको पहिलो साता मर्निङ वाकमा हिँडेका बेला हात्तीको आक्रमणमा परेर मृत्यु भयो । हात्तीले एकान्तस्थलमा मारेपछि स्याउला र पत्करले छोपेर हिँडेको पाइएको थियो । शिवसताक्षी–११ का ४५ वर्षीय मेघराज राईको यही पुस १३ गते राति हात्तीले घरछेउमै आक्रमण गर्दा मृत्यु भयो । हात्ती घर भत्काउन थालेपछि ज्यान जोगाउन बाहिर निस्कँदा राई हात्तीको निशानामा परेका थिए ।

हात्तीको क्षति न्यूनीकरणका लागि मानव–हात्ती सहअस्तित्वको नीति अख्तियार गर्न आवश्यक रहेको मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्की बताउनुहुन्छ । जनप्रतिनिधि हुनुअघि विगत दुई दशकदेखि उहाँ हात्तीबाट मानिसको जनधनमा हुने क्षति न्यूनीकरणका लागि विभिन्न नयाँ अभ्यास भित्र्याउने अभियन्ताका रूपमा चिनिनुहुन्छ ।

“हात्ती आफैँमा आक्रामक प्राणी होइन । उसको बासस्थान र आहारमा व्यवधान भएको महसुस भयो भने उसले आक्रामक व्यवहार देखाउँछ”, वडाध्यक्ष कार्की भन्नुहुन्छ, “मान्छे र हात्तीबीच द्वन्द्वको सबैभन्दा लामो इतिहास भएको बाहुनडाँगीमा हामीले सहअस्तित्वको नीतिलाई व्यवहारमा लागू गर्न थालेका छौँ । यसले क्षति न्यूनीकरणमा महत्त्वपूर्ण सहयोग पुगेको छ ।”

जिल्लामा हात्तीले पहिलोपल्ट चार दशकअघि बाहुनडाँगीमा मानिसलाई आक्रमण गरी मारेको थियो । बर्सेनि बाहुनडाँगीमा मानिसको मृत्यु हुने कारण हात्तीको आक्रमण भएको थियो । त्यहीकारण बाहुनडाँगी हात्तीपीडित क्षेत्रका रूपमा चिनिन पुग्यो । तर सहअस्तित्वको नीति व्यवहारमा लागू गर्न थालिएपछिको विगत पाँच वर्षमा बाहुनडाँगीमा एक जनाको पनि मृत्यु भएको छैन । हात्ती छेक्न सीमा क्षेत्रमा विद्युतीय तारबार लगाइएका कारण एक दशकदेखि भारतीय जङ्गलबाट आउने हात्तीको बथान मेचीको बगरमै रोकिने गरेका छन् ।

बाहुनडाँगीमा हात्तीले बाली खाएमा क्षतिपूर्ति दिनका लागि बाली बीमा गर्न थालिएको कार्कीले बताउनुभयो । हात्तीलाई तालिमप्राप्त युवा दस्ताले रातभर गस्ती गर्ने र बस्तीमा पस्न नदिने सुरक्षात्मक रणनीति पनि बाहुनडाँगीमा अपनाइएको छ । हात्ती गाउँतिर पसेको सङ्केत दिनका लागि साइरन जडान गरिएका छन् । मानिस विगतमा जस्तो हात्तीको पछाडि दगुरेर खेदाउने जोखिमपूर्ण कार्य गर्दैनन् ।

“हात्तीलाई नबिच्क्याउने र गाउँ पस्न पनि नदिने दोहोरो उपाय अपनाएका छौँ”, उहाँले भन्नुभयो, “यसको बाली खाइदिन्छ, हामी बीमामार्फत क्षतिपूर्ति दिलाउँछौँ । यस्तो व्यवस्था भएपछि किसानले आफ्नो खाद्यबालीको सुरक्षाका लागि ज्यान माया मारेर हात्तीसँग भिड्न जानुपरेको छैन । हात्ती धपाउन तामिलप्राप्त युवा खटाएका छौँ । गाउँले हाहाहुहु गरेर निस्कनु पर्दैन । यसकारण क्षति कम हुँदै गएको विज्ञहरूले विश्लेषण गर्नुभएको छ ।”

झापा र मोरङमा हात्तीका कारण जनधनको क्षति हुनुमा मानव–हात्तीबीच अस्तित्वका लागि हुने द्वन्द्व मुख्य कारण रहेको हात्तीका विषयमा विद्यावारिधि गर्नुभएका दिनेश न्यौपानेले बताउनुभयो । उहाँका अनुसार हात्तीलाई बिच्क्याउने प्रवृत्तिका कारण हात्ती अझ बढी हिंस्रक भएर मानिसमाथि जाइलाग्ने गर्दछ ।पाकोट मझुवागढी नगरपालिकाले शैक्षिक गुणस्तर सुधार गर्न विभिन्न उपायको खोजी थालेको छ । सामुदायिक विद्यालयको घट्दो आकर्षणलाई उकास्न नगरपालिकाले नगरभित्रका राजनीतिक दलका प्रतिनिधि, वडा शिक्षा समिति, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, पूर्वप्रधानाध्यापक, व्यवस्थापन समितिका पूर्वपदाधिकारी, विद्यार्थीलगायतलाई एक ठाउँमा भेला गरेर शैक्षिक बहस थालेको हो ।

पछिल्लो समय सामुदायिक विद्यालयको गुणस्तर खस्किँदै गएको अवस्थामा त्यसको जड पत्ता लगाउने लक्ष्यका साथ शैक्षिक बहस तथा अन्तक्र्रियात्मक कार्यक्रम सुरु गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभएको छ । “सामुदायिक विद्यालयमा राज्यको करोडौँ लगानी छ, उच्च शिक्षा हासिल गरेका र तालिमप्राप्त शिक्षकको व्यवस्था छ । तर विद्यालयमा विद्यार्थी सङ्ख्या घटिरहेको छ । कतिपय कक्षा रित्तो बन्ने अवस्थामा पुगेको छ । बाँकी विद्यार्थीलाई गाउँमै रोक्ने वातावरण बन्न सकेन भने केही वर्षपछि विद्यालय नै रित्तो बन्ने अवस्था आउने सङ्केत देखिन थालेका छन्”, उहाँले भन्नुभयो, “तहअनुसार विद्यार्थीको क्षमता विकास हुनसकेको छैन । यिनै समस्या हल गर्ने प्रयासस्वरुप शैक्षिक बहस अन्तक्र्रियात्मक कार्यक्रम सुरु गरिएको हो ।”

बसाइँसराइ, निजी स्कुल, जन्मदर रोकथाम, वैदेशिक रोजगारलगायतका कारण सामुदायिक विद्यालय रित्तिँदै गएको अवस्थामा नगरपालिका विद्यार्थीलाई गाउँकै सामुदायिक विद्यालयमा बस्ने वातावरण बनाउने उपायको खोजीमा जुटेको देखिन्छ । नगरभित्र सञ्चालित सामुदायिक विद्यालयमा कैयौँ समस्या देखापरिरहेका छन् ।

नगरपालिकाले आयोजना गरेको सर्वपक्षीय शैक्षिक बहसको माध्यमबाट सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्ने राय सुझाव सङ्कलन गरेको छ । कार्यक्रममा सहभागीमध्ये ३२ जनाले सामुदायिक विद्यालय सुधार गर्ने विषयमा राय दिएका छन् । कतिपयले राजनीति सप्रिए स्वतः शिक्षामा सुधार आउने धारणा राखेका छन् । केहीले गाउँलाई बस्नलायक बनाइनुपर्ने सुझाव दिएका छन् ।

यस्तै शिक्षक, जनप्रतिनिधिलगायतका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने, आवासीय शिक्षाको प्रबन्ध मिलाउनुपर्ने, अभिभावक शिक्षाको व्यवस्था गर्नुपर्ने, समय सान्दर्भिक पाठ्यक्रम लागू गर्नुपर्नेलगायतका सुझाव आएको छ । सुझाव टिपोट गर्दै प्रतिवेदन तयार गर्नका लागि शुभम् फाउण्डेसनका कार्यकारी निर्देशक सूर्यबहादुर राई संयोजक तथा पञ्च मावि दिक्तेलका प्रधानाध्यापक लक्ष्मीप्रसाद खनाल र नगरपालिकाको शिक्षा शाखाका प्राविधिक सहायक प्रेम केसी सदस्य रहेको समितिलाई जिम्मेवारी दिइएको छ ।

कार्यक्रममा व्यक्त सुझावका आधारमा पाँच दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको नगरप्रमुख भट्टराईले बताउनुभयो । “न काखमा बच्चा छ न कोखमा । पाँच–सात वर्षपछि स्कुल रित्तो हुने अवस्था आउँदैछ । शैक्षिक गुणस्तर सुधारका कारणहरु खोज्न थालेका छौँ”, उहाँले भन्नुभयो, “प्राप्त राय सुझाव सङ्कलन गरेर कार्यान्वयनमा जान्छौैँ । समितिले बुझाएको प्रतिवेदनका आधारमा पुनः पाँच सदस्यीय सुझाव कार्यदल बनाउने र सो कार्यदलमार्फत वडा–वडामा पुगेर शिक्षक, अभिभावकबाट सुझाव सङ्कलन गरिन्छ । सो कार्यदलले दिएको सुझाव र निचोडलाई आगामी शैक्षिकसत्रबाट कार्यान्वयनमा ल्याउने योजना बनाएका छौँ ।”

पन्ध्र वडा रहेको यस दिक्तेल रुपाकोट मझुवागढीका अधिकांश वडाको ग्रामीण क्षेत्रमा सञ्चालित विद्यालय विद्यार्थी अभावमा सङ्कटमा पर्दै गएको छ । कतिपय विद्यालयमा विद्यार्थीभन्दा शिक्षक बढी देखिन थालेको छ । नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकले शैक्षिक गुणस्तर सुधार गर्ने यसअघि नै प्रतिबद्धता जनाएका थिए । उसबेला मावि, निमावि र आविका विव्यास अध्यक्षले १५ तथा प्रअले १७ बुँदामा शिक्षा सुधारका काम गर्ने नगरपालिकासमक्ष लिखित प्रतिबद्धता जनाएका हुन् ।

वर्तमान जनप्रतिनिधि निर्वाचित भएलगत्तै सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि पहल थालिए पनि हालसम्म प्रभावकारी कार्यान्वयन भएको छैन । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह यो नगरपालिकामा मावि, निमावि र आवि गरी ९३ सामुदायिक विद्यालय सञ्चालनमा छन् ।