जनता टाइम्स

२४ पुष २०८०, मंगलवार १८:४१

बिजुलीबजारको चक्रवर्ती हवी एजुकेशनका सञ्चालक भण्डारीमाथि उनकै छोराले किन गरे आक्रमण ?


काठमाडौं, २४ पुस । काठमाडौं बिजुलीबजारस्थित चक्रवर्ती हवी एजुकेशन एकेडेमीका दुई सञ्चालकबीच झडप भएको छ । उक्त झडपमा परी काठमाडौं–१० मध्यबानेश्वरका ६८ वर्षीय देवेन्द्र भण्डारी र शंखमुल बस्ने २२ वर्षीय सुरज रेग्मी घाइते हुनुभएको छ । घाइते भण्डारी नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ । रेग्मीको सिभिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

घटनामा २४ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको परिसरले जनाएको छ । गएराति करिब ११ बजे सञ्चालकहरूबीच झडप भएको थियो । सामान्य घाइते भएका सुरज अस्तालबाट डिस्चार्ज भइसक्नुभएको छ । भण्डारीलाई सिभिल अस्पतालबाट राति नै नर्भिक लगिएको हो । उहाँको टाउकोमा गम्भीर चोट रहेको प्रहरीले जनाएको छ । भण्डारीलाई उहाँकै छोरासहितका व्यक्तिले आक्रमण गरेका थिए ।

छोरा ३२ वर्षीय निरज भण्डारीले एकेडेमीमै पुगेर बेल्चा प्रहार गरेको काठमाडौं परिसर प्रमुख एसएसपी भूपेन्द्र खत्रीले बताउनुभयो । चितवन भरतपुर घर भएका भण्डारी बाबु–छोराबीच उक्त एकेडेमीको सम्पत्तिबारे विवाद छ । ‘कसले कति सेयर पाउने भनी उनीहरूबीच सात–आठ वर्ष लामो विवाद देखिन्छ,’ खत्रीले भन्नुभयो । यो विषयमा कम्पनी रजिष्ट्रार कार्यालय तथा अदालतमासमेत लामो समय मुद्दा परिरहेको र विवाद नसुल्झिएको बुझिएको उहाँले बताउनुभयो ।

सोही विवादको सिलसिलामा छोरा सुरजले युवाहरू भेला पारेर बाबुमाथि आक्रमण गराएको खत्रीले बताउनुभयो । सुरजसहित आक्रमणमा संलग्न रहेको आरोपमा २४ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको खत्रीले बताउनुभयो । सुरूमा आक्रमणका लागि बाबु पसेको भन्दै सुरजले उहाँमाथि आरोप लगाइरहनुभएके छ । भण्डारी बोल्न सक्ने अवस्थामा हुनुहुन्न ।