जनता टाइम्स

२५ पुष २०८०, बुधबार १५:३७

रामबहादुर बम्जनको आश्रमबाट को कहिले बेपत्ता भएका थिए ?


काठमाडौं, २५ पुस । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तपस्वी भनेर चिनिने रामबहादुर बम्जनलाई मंगलबार साँझ पक्राउ गर्यो । बुढानिलकण्ठ नगरपालिका–६ हात्तीगौंडाबाट पक्राउ परेका बम्जनलाई ब्युरोले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । बम्जनको आश्रमबाट हालसम्म चार जना बेपत्ता भएको खुलेको छ । तिनीहरूमध्ये एक हुन् २९ वर्षीया चुन्मो भनिने चिनिमाया तामाङ ।

नुवाकोट मेधाङ गाउँपालिका–३ घर भएकी उनी सिन्धुपाल्चोकस्थित बाडेगाउँको आश्रमबाट बेपत्ता भएकी थिइन् । ब्युरोका एसएसपी दिनेश आचार्यका अनुसार उनी २०६९ साल असोज महिनाबाट बेपत्ता छिन्। उनी अहिलेसम्म कहाँ छिन् खुलेको छैन । यस्तै, सिन्धुपाल्चोक बाडेगाउँ आश्रमबाट बेपत्ता भएका अर्का व्यक्ति हुन् ५१ वर्षीय सञ्चलाल वाइबा । हेटौंडा उपमहानगरपालिका–१३ घर भएका उनी २०७१ साल चैत १४ गतेबाट बेपत्ता भएका थिए ।

सिन्धुपाल्चोक बाडेगाउँकै आश्रमबाट बेपत्ता भएकी तेस्रो व्यक्ति हुन् फूलमाया रुम्बा । ३० वर्षीय रुम्बा हेटौंडा उपमहानगरपालिका–१६ की हुन् । उनी २०७१ साल माघ महिनाबाट बेपत्ता भएकी थिइन् । यसैगरी, बमजनको आश्रमबाट बेपत्ता भएका चौथो व्यक्ति ३४ वर्षीय सुरेशकुमार आले हुन् । उनी निजगढ नगरपालिका–१२ खुमजोरस्थित बमजनको आश्रमबाट २०७२ जेठ महिनामा बेपत्ता भएका थिए ।

उनी जितपुर सिमरा उपमहानगरपालिका–१५ बडहर्वाका हुन् । २०७१ साल साउन महिनादेखि बाराको हलखोरियास्थित आश्रममा काम गर्ने एक आनीले जाहेरी दिएपछि बमजनको खोजीमा प्रहरी लागिरहेको थियो । बम्जनले बलात्कार तथा यौन शोषण गर्ने गरेको जाहेरी परेपछि प्रहरीले उनीविरूद्ध २०७६ साल माघ २३ गते सर्लाही जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएको थियो ।