जनता टाइम्स

३ आश्विन २०७६, शुक्रबार १३:००

राष्ट्रपति भण्डारीलाई भारतीय समकक्षीको शुभकामना : नेपालको समृद्धि र विकासका लागि अविच्छिन्न सहयोग


काठमाडौं, असोज ३ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सन्देश पठाउँदै राष्ट्रपति स्वयं र भारत तथा त्यहाँका जनताका तर्फबाट संविधान दिवसको शुभकामना व्यक्त गर्नुभएको छ । सन्देशमा राष्ट्रपति कोविन्दले नेपाल र भारत साझा भूगोलले मात्र नभई इतिहास, सभ्यता, संस्कृति र जनता जनताबीचको सम्पर्कले जोडिएका बताउनु भएको छ ।

भारत र नेपालबीचको साझेदारी विभिन्न क्षेत्रमा निरन्तर विस्तार भइरहेको बताउँदै भारतका राष्ट्रपतिले सन्देशमा नेपालको समृद्धि र विकासका लागि अविच्छिन्न सहयोग अभिवृद्धि गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । नेपालको भ्रमण गर्न आफूलाई राष्ट्रपति भण्डारीबाट प्राप्त निमन्त्रणाप्रति आभार व्यक्त गर्दै उहाँले दुई देशीबीच उच्चस्तरमा आदानप्रदान हुने भ्रमणले एकअर्काप्रति साझेदारीका प्राथमिकता प्रतिबिम्बित हुने बिश्वास पनि ब्यक्त गर्नुभएको छ ।

‘दुई देशीबीच उच्चस्तरमा आदानप्रदान हुने भ्रमणले एकअर्काप्रति हाम्रो साझेदारीका प्राथमिकता प्रतिबिम्बित हुनेमा बिश्वस्थ छु,’ राष्ट्रपति कोभिन्दको सन्देशमा भनिएको छ । दुवै देशलाई उपयुक्त हुने समयमा नेपालको भ्रमण गर्न आफू प्रतीक्षारत रहेको जानकारी दिँदै भारतका राष्ट्रपतिले सन्देशमा राष्ट्रपति भण्डारीको सुख, सुस्वास्थ्यका साथै मित्रवत् नेपाली जनताको निरन्तर समृद्धि र प्रगतिको कामना गरेका छन् ।