जनता टाइम्स

२५ पुष २०८०, बुधबार १७:२८

इन्टरपोलबाट रेड नोटिस जारी भएको पाँच दिनभित्रै फरार व्यक्ति कतारबाट पक्राउ


काठमाडौं, २५ पुस । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी खोटाङ हलेसी तुवाचुङ नगरपालिका–७ ठेगाना भएका १९ वर्षीय किरण राई रेड नोटिस जारी भएको ५ दिन भित्रै पक्राउ परेका छन् । एनसिबि दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्नेरगराउने प्रयोजनार्थ आज नेपाल फिर्ता ल्याइएको छ ।

राईविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जबरजस्ती करणी मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुल्न आएको थियो ।

अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेशनल सेन्ट्रल व्यूरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट यही पुस २० गते उनी विरुद्ध रेड नोटिस जारी भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।