काठमाडौं, २५ पुस । वैदेशिक रोजगारीका लागि विदेश पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा प्रहरीले तीनजनलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३४ वर्षीया बेन्जु महत, २६ वर्षीय महेश तामाङ र ४८ वर्षीया उर्मिला चेम्जोङ रहेका छन् । काठमाडौं बुढानीलकण्ठ घर भएकी बेन्जु महतले अमर बहादुर पुनलाई अमेरिकामा प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु भन्दै २३ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेकी थिइन् ।
उनलाई पुस २४ गते बुढानीलकण्ठबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । यस्तै, नवलपरासी बर्दघाट नगरपालिका–१५ घर भएका महेश तामाङले वैदेशिक रोजगारीमा टर्की पठाइदिन्छु रमेश थापासहित ३ जनाबाट ५ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेका थिए । उनलाई पनि पुस २४ गते नवलपरासी (पूर्व) देवचुलीबाट पक्राउ गरिएको रेग्मीको भनाई छ ।
यता धनकुटा घर भई हाल काठमाडौं बस्दै आएकी उर्मिला चेम्जोङले संगत थापासहित २ जनालाई पोर्चुगलको प्रतिष्ठित कम्पनीमा ड्राइभिङको काम लगाइदिन्छु भन्दै १० लाख ५० रुपैयाँ रकम लिएर फरार भएकी थिइन् । उनलाई कीर्तिपुरबाट पुस २५ गते पक्राउ गरिएको थियो । तीनै जनालाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको उपरीक्षक रेग्मीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्