जनता टाइम्स

२५ पुष २०८०, बुधबार १९:०६

जनताको सेवाका लागि मिसन बनाएर हिँडिरहेको छु : मन्त्री साउद


काठमाडौं, २५ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले जनताको सेवाका लागि मिसन बनाएर हिँडिरहेको बताउनुभएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पर्ने झलारीमा आज आयोजित नेपाल दलित संघको अन्तरक्रिया कार्यक्रममा यस्तो बताउनुभयो । अन्य पार्टीहरुले मिसन ८४ भनिरेहका छन्, कांग्रेस पार्टीमात्रै मिसन ८०, ८१ बनाएर दैनिक जनताको सेवामा हिँडिरहेको छ,’ उहाँले भन्नुभयो ।

मन्त्री साउदले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको समेत बताउनुभयो । ‘अर्थतन्त्र जसरी जसरी गतिमा जानुपथ्र्यो, त्यसरी जान सकेको अवस्था छैन । अघिल्ला सरकारले खर्च धेरै गरेर आम्दानी गर्न नसकेका कारण अर्थतन्त्र जोखिममा छ,’ उहाँले भन्नुभयो,‘तर सरकार त्यसको सामना गरेर अघि बढिरहेको छ ।’

साउदले दलित समुदायलाई संविधानले संरक्षण गरेको समेत बताउनुभयो । उहाँले दलित समुदाय देशभर छरिएर रहेकाले वर्गिय प्रतिनिधित्व कम भएको समेत बताउनुभयो । आर्थिक कारणबाट दलित समुदाय त्यसमाथि पनि महिलाहरु पछाडि परिरहेको भन्दै मन्त्री साउदले संविधानले दलित समुदायलाई संरक्षण गरेको बताउनुभयो । उहाँले सबै बराबर रहेको बताउँदै मिलेर अघि बढ्नुपर्नेमा पनि जोड दिनुभयो ।

महिला सशक्तिकरण बलियो हुँदै गएको मन्त्री साउदको भनाई थियो । उहाँले कञ्चनपुरका आरक्षणपीडितको समस्या समाधानका लागि सरकारले काम गरिरहेको पनि बताउनुभयो । परराष्ट्रमन्त्री साउदले डुबानको समस्या समाधानका लागि आफूले अर्बौको परियोजनाबाट दीर्घकालिन रुपमा नदी नियन्त्रणका लागि काम गरिरहेको पनि बताउनुभयो ।