जनता टाइम्स

२५ पुष २०८०, बुधबार १९:२४

सुदूरपश्चिम प्रदेश सभा विषयगत समितिका सभापति निर्विरोध निर्वाचित


काठमाडौं, २५ पुस । सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिको सभापति निर्विरोध निर्वाचित हुनुभएको छ । चारवटै समितिको सभापतिमा एक/एकजनाको मात्र उम्मेदवारी परेसँगै आज निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । निर्वाचित सभापतिहरूलाई सभामुख भीमबहादुर भण्डारीले आजै पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा सत्तारुढ नेपाली कांग्रेसका दिवानसिंह विष्ट, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र सामाजिक विकास समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका माया पन्त निर्वाचित हुनुभएको छ ।

त्यस्तै, सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका बीरबहादुर थापा निर्वाचित हुनुभयो । सत्तारुढ कांग्रेस, माओवादी, नागरिक उन्मुक्ति, एकीकृत समाजवादी र प्रमुख प्रतिपक्षी एमालेबीच पाँचवटै पार्टीले एकरएकवटा समितिको नेतृत्व लिने समझदारी बनेपछि चारवटै समितिको सभापतिमा एकल उम्मेदवारी परेको थियो ।

प्रदेश सभा नियमावलीमा भएको व्यवस्थाअनुसार विशेषाधिकार समिति गठन गर्ने र उक्त समितिको नेतृत्व माओवादीलाई दिने सहमति दलहरूबीच सोमबार सहमति भएको थियो । प्रदेश सभा सुरु भएपछि उक्त समिति गठन हुनेछ ।