जनता टाइम्स

२५ पुष २०८०, बुधबार १९:३१

प्रधानमन्त्री माघको पहिलो साता युगाण्डा प्रस्थान गर्ने


काठमाडौं, २५ पुस । असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड माघको पहिलो साता युगाण्डा प्रस्थान गर्नुहुने भएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री माघको पहिलो साता युगाण्डा जाने जानकारी दिनुभयो ।

बैठकले माघ ५ देखी ६ सम्म हुने सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको गठन गर्ने निर्णय गरेको उहाँको भनाइ छ । माघ ३ र ४ गते हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको मन्त्रिस्तरीय बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद सहभागी हुनुहुनेछ ।

बैठकले एनसेलको सेयर खरिदबिक्री भएको भनिएको सम्बन्धमा अध्ययन तथा छानविन गर्न मङ्सिर २१ मा गठित समितिको कार्यविधि २०८० साल माघ १५ गतेसम्म थप गरेको छ भने प्रधानमन्त्री दैविप्रकोप सहायता कोषबाट २ अर्ब रुपैयाँ विपत् व्यवस्थापन कोषमा उपलब्ध गराउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले चितवनको भरतपुर महानगरपालिका १५ स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सञ्चालन तथा व्यवस्थापन गर्ने प्रयोजनको लागि बागमती प्रदेश सरकारसँगको साझेदारीमा गर्न भरतपुर महानगरपालिकालाई सहमति प्रदान गरेको छ ।