जनता टाइम्स

२६ पुष २०८०, बिहीबार १२:१०

पितृ र देवलाई जोड्ने पवित्र पौषे औँशी, यस्तो छ धार्मिक एवं वैदिक महत्त्व


काठमाडौं, २६ पुस । अमावस्यका प्रमुख देवता अर्यमा हुन्, जुन पितृहरूका प्रमुख देवता पनि हुन् । अमावास्यमा पितृहरुका नाममा तर्पण स्नान तथा पिण्डदान गरेमा सदैव पितृ प्रसन्न भएर प्रजावृद्धि, धन(रक्षा, आयु वृद्धि तथा बल(शक्ति प्रदान हुने धार्मिक मान्यता रहिआएको छ । विशेषगरी गोकर्ण, विष्णुपादुका, गण्डकी, वराहक्षेत्रलगायतका तीर्थ स्थलमा स्नान, दान, श्राद्ध तथा पिण्डदानको विशेष महत्त्व रहेको छ ।

पूर्णीमामा चन्द्रमा पूर्णहुन्छन् भने औंशीमा चन्द्रमा लुप्त अवस्थामा हुने भएकोले औँशी तिथिलाई बलप्रदायक पितृ तिथिका रुपमा पुराण तथा उपपुराणहरुमा व्याख्या गरिएको छ । अतः औँशीका दिन कुनै पनि तामसिक भोजन तथा नसालु पदार्थको सेवन पूर्णरूपमा निशेध गरिएको छ । पौष महिना भगवान् सूर्यदेको विशेष पुजा तथा आराधना गर्ने महिना हो भने श्राद्धका समयमा सूर्य भगवानलाई प्रत्यक्ष पितृका रुपमा व्याख्या गरिएकाले पनि पौषे औँशीको विशेष महत्त्व रहँदै आएको छ ।

साधारणतया मातापिता दिवङ्गत भएको तिथिलाई आधार मानेर प्रत्येक वर्ष वार्षिक श्राद्ध गरिन्छ । जसलाई ‘एकोद्दिष्ट श्राद्ध’ भनिन्छ भने आश्विन महिनाको पितृ पक्ष कृष्ण प्रतिपदा तिथिदेखि औंशीको दिनसम्म पर्ने श्राद्ध सोह्र श्राद्ध हो । श्राद्ध पिता–माता दिवङ्गत भएको तिथिका हिसाबले गर्नुपर्दछ । यसबाहेक पौषे औंसीका दिन पनि मृत पितृहरूलाई श्राद्ध गरी सम्झना गर्ने वैदिक परम्परा रहिआएको छ । एकोद्दिष्ट श्राद्ध र सोह्र श्राद्धका अतिरिक्त तीर्थ जाँदा गरिने श्राद्धलाई ‘तीर्थ श्राद्ध’ भनिन्छ ।

यो सनातनदेखि चलिआएको शास्त्रीय विधि विधान र नियम हो । नेपाली हिन्दू संस्कारअनुसार आफ्ना पितृहरुका लागि प्रथमतस् भारतको गया तीर्थमा गई श्राद्ध गर्ने गरेको पाइन्छ । यसरी नै काशी, अयोध्या, गंगासागर, हरिद्वार, गंगोत्री, केदारनाथ, बद्रीनाथ धामको ब्रह्म कपाली आदि तीर्थहरुमा र नेपालका बागमती, पशुपति, गोकर्ण, मातातीर्थ, मुक्तिनाथको कागबेनी र नारायणीको देवघाट आदि तीर्थहरुमा श्राद्ध गरिन्छ । यस्ता तीर्थहरुमा गरिने श्राद्धलाई ‘तीर्थ श्राद्ध’ भनिन्छ ।

पौषे औँशीका दिन विशेषगरी तीर्थ श्राद्धको विशेष महत्त्व हो । माघबाट सूर्य उत्तरायण हुनेभएकाले पौष महिना दक्षिणायनको अन्तिम बिन्दु पनि हो । यसरी दिक्षिणायनको अन्तिम विन्दुका रूपमा देखा परेको पौषे औँसीलाई विशेषगरी पितृपर्वका रुपमा शास्त्रमा व्याख्या गरिएको छ । महर्षि याज्ञवल्क्यले आफ्नो याज्ञवल्क्य स्मृतिमा लेखेका छन्– पितृहरु श्राद्धबाट नै तृप्त हुन्छन्  ।

र तृप्त आत्माले दिएको आशिर्वादले हाम्रो आयु, धन, विद्या, स्वर्ग, मोक्ष, राज्य एवं अन्य सबै सुखभोग गर्न पाउने कुरा उल्लेख गरेका छन् । श्राद्धचन्द्रिका नामक पुस्तकमा कर्मपुराणको मध्यभागबाट भनिएको छ– श्राद्धभन्दा ठूलो अरु कुनै पनि कुराहरुबाट नहुने उल्लेख गरिएको छ । त्यसैले हरेक मनुष्यले जसरी भए पनि श्राद्धको कर्म गर्नु नै पर्ने कुरा शास्त्रले अह्राएको छ । वैदिक परम्परा अनुसार श्राद्धका चार विधि वर्णन गरिएको छ, ती पिण्डदान, हवन, तर्पण, ब्रह्मण भोजन हुन् ।