जनता टाइम्स

२६ पुष २०८०, बिहीबार १९:५५

बच्चाको कानको मुन्द्रा र खुत्रुकेको पैसा चोरी, एक जना पक्राउ


पोखरा, २६ पुस । पोखरामा ६ वर्षीय एक बालिकालाई ललाइफकाइ गरेर उनको कानको मुन्द्रा र घरमा राखेको खुत्रुकेको पैसा चोरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका-६ घर भई हाल पोखरा ४, गणेशटोल बस्ने ३४ वर्षीय टीका श्रेष्ठ रहेकी छन्।

श्रेष्ठले पुस २० गते पोखरा महानगर १२, शीतलादेवीमा एक बालिकाको सुनको मुन्द्रा तथा खुत्रुकेमा रहेको २ हजार २४० रुपैयाँ चोरी गरेकी थिइन् । चोरी पश्चात उनी फरार थिइन् ।

श्रेष्ठलाई चोरी गरेको २ थान मुन्द्रा र रकमसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले बताउनुभयो । प्रहरीका अनुसार बालबालिका तथा महिलालाई ललाइफकाइ ठगेको आरोपमा उनले यसअघि पटके कारबाही भोगिसकेकी छन् ।

उनले यसअघि पनि पटक–पटक गरेर १२ जनाभन्दा बढीको सुनका गरगहना चोरी गरेको आरोपमा कैद भुक्तान गरिसकेको प्रहरीले जनाएको छ । चोरीसम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट ९ महिना कैद सजाय र २८ हजार जरिवाना तिरेर रिहा भएपछि पुनः सोही काममै फर्किएको खुलेको प्रहरीले जानकारी दिएको छ ।