काठमाडौं, पुस २७ । १३औं दक्षिण एसियाली खेलकुद (साग) कि गोल्ड मेडलिस्ट खेलाडी काजल श्रेष्ठ नेपालकी कान्छी अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री बन्नुभएको छ ।
त्रिभुवन आर्मी क्लबबाट तेक्वान्दो खेल्ने काजलले वर्ल्ड तेक्वान्दोले आयोजना गरेको १२६औं इन्टरनेशनल ग्योरोगी रेफ्री सेमिनारमा उनले उक्त उपलब्धि हासिल गर्नुभएको हो ।
अन्तर्राष्ट्रिय रेफ्रीको कोर्स पास गरेपछि २६ वर्षीया काजलले तेक्वान्दोमा आफू नेपालकै सबैभन्दा कान्छी रेफ्री बन्नुभएको हो । अन्तर्राष्ट्रिय रेफ्री बनेपछि काजलले अब साग र एसियन गेम्स अफिसियल स्तरको तेक्वान्दो खेलाउन पाउनु हुन्छ ।
फोर्थ डान ब्ल्याकबेल्टधारी काजलले शरीर थाकेपनि सपना पूरा गर्न विश्वास र आँट कहिल्यै नथाक्ने भन्दै यसबाट आफू एकदमै खुशी भएको उहाँले बताउनु भयो ।
सन् २०१४ मै ताइवानमा भएको दशौँ जुनियर वर्ल्ड च्याम्पियनसिप खेलेकी काजलले २०१९ मा नेपालमै भएको १३औं सागमा ४६ केजी तौलमा स्वर्ण जित्नुभएको थियो । यस्तै गत वर्ष अजरवैजानमा भएको वर्ल्ड तेक्वान्दो च्याम्पियनसिप समेत खेल्नुभएको थियो ।
काजलले २०१५ मा मलेसियामा भएको सारावाक चिफ मिनिस्टर बोर्नेओ कप, २०१७ मा काठमाडौंमै भएको पहिलो वुमन्स अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप, २०१७ मै भएको भएको दोस्रो इन्डियन ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप, २०१८ मा काठमाडौंमा भएको काठमाडौं ग्योरोगी इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप, २०२१ मा भएको नेपाल ओपन भर्चुअल इन्टरनेशनल तेक्वान्दो च्यामपियनसिपमा पनि स्वर्ण पदक जित्नुभएको छ ।
यस्तै उहाँले अन्य विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा रजत र कांस्य पनि जित्नुभएको छ । काजलले विभिन्न राष्ट्रिय प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक जितेकी छन् भने विभिन्न प्रतियोगितामा उत्कृष्ट महिला खेलाडीको अवार्ड समेत जित्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्