कैलाली, २७ पुस । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले टीकापुर समाजिक सद्भाव र एकताको थलो भएको बताउनुभएको छ । सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव उद्घाटन गर्दै उहाँले २०७२ सालको घटनापछि केही समय अशान्त रहन पुगेको टीकापुर अहिले पूर्ववत् शान्त अवस्थामा फर्कन थालेको उल्लेख गर्नुभयो ।
‘यस क्षेत्रमा विभिन्न जातजाति र समुदायबीच सदियौँदेखि कायम रहिआएको समाजिक एकता, पारस्परिक सद्भाव र सहिष्णुतालाई हामीले कदापि खल्बलिन दिनुहुँदैन । यसतर्फ म यहाँका सबै राजनीतिकर्मी, बुद्धिजीवी र सर्वसाधारणको ध्यान आकृष्ट गर्न चाहन्छु,’ उहाँले भन्नुभयो । सोही अवसरमा उपप्रधानमन्त्री खड्काले सुदूरपश्चिम प्रदेशलाई पर्यटन तथा कृषिको विकासमार्फत समृद्धि बनाउन सकिने बताउनुभयो ।
उहाँले दुईतिर छिमेकी मुलुकसँग सिमाना जोडिएको यो प्रदेशमा पर्यटन प्रवर्द्धन, औद्योगिक वस्तुको उत्पादन र निकासी, कृषि र पशुपालन क्षेत्रको विस्तार, जडीबुटी उत्पादन र प्रशोधन तथा शैक्षिक विकासलाई प्रवर्द्धन गरी यस क्षेत्रलाई मुलुककै एउटा आर्थिक हबको रूपमा विकास गर्ने प्रशस्त सम्भावना रहेको धारणा राख्नुभयो ।
‘यो नेपालको ठूलो सम्भाव्यता बोकेको क्षेत्र हो। खप्तड र रामारोशन जस्ता मनोरम पर्यटकीय स्थलदेखि तराईका सुन्दर हरिया फाँटहरू भएको यो प्रदेशमा पर्यटन तथा कृषिको विकास मार्फत आर्थिक समृद्धिलाई चाँडै मूर्त रूप दिन सकिने स्थिति छ। यसका लागि यस क्षेत्रको प्रदेश सरकार र स्थानीय तहले एक आपसमा समन्वयात्मक ढङ्गले काम गरी अगाडि बढ्न आवश्यक छ। कर्णाली प्रदेश सँगसँगै यस क्षेत्रको आर्थिक र पूर्वाधार विकासका लागि नेपाल सरकारको तर्फबाट उपलब्ध गराउनुपर्ने सहयोगका लागि म सदा प्रतिबद्ध छु,’ उहाँले भन्नुभयो ।
टीकापुर सुदूर पश्चिमको सुन्दर र ठूलो आर्थिक सम्भावना बोकेको सहक भएको र सदरमुकाम धनगढीपछिको प्रमुख आर्थिक व्यापारिक केन्द्रको रूपमा रहेको उहाँको भनाइ थियो । ‘यो क्षेत्र पर्यटन विकासको दृष्टिले पनि उत्तिकै महत्त्वपूर्ण क्षेत्रको रूपमा रहेको छ । टीकापुरमा आयोजना हुन गइरहेको यो महोत्सवले यस क्षेत्रका कृषक, उद्यमी, व्यवसायी, कलाकारहरू सबैलाई एकै ठाउँमा जुटाई आफ्नो उत्पादन र सिर्जनाहरू व्यवस्थित तवरले प्रस्तुत गर्न, एक आपसमा ज्ञान तथा अनुभवको आदान प्रदान गर्न र सहकार्यका क्षेत्रहरू पहिल्याउन ठुलो सहयोग पुग्ने कुरामा दुई मत छैन’, उपप्रधानमन्त्री खड्काले भन्नुभयो ।
सुदूरपश्चिम प्रदेशको समग्र विकास र समृद्धिमा टेवा पुर्याउने उद्देश्यले पश्चिम सेती जलविद्युत आयोजना, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, रानीजमरा–कुलरिया सिँचाई आयोजना, चमेलिया जलविद्युत आयोजना, दोधारा(चाँदनी क्षेत्रमा सुख्खा बन्दरगाह निर्माण जस्ता ठुला परियोजनाका साथै अन्य मझौला तथा साना आयोजनाहरूको निर्माण र सञ्चालनका लागि सरकारले प्राथमिकताका साथ प्रक्रिया अगाडि बढाएको उहाँले बताउनुभयो ।
‘भर्खरै मात्र गेटा मेडिकल कलेजलाई व्यवस्थित तवरमा सञ्चालनमा ल्याउन आवश्यक कार्यहरू प्रारम्भ गरिएको छ । उल्लिखित आयोजनाहरूको निर्माण सम्पन्न भएपछि यस क्षेत्रमा आर्थिक विकासका नयाँ क्षितिजहरू उद्घाटित हुने र रोजगारीका लागि हाम्रा भाइबहिनीहरू विदेशिनु पर्ने स्थितिको अन्त्य हुने कुरामा म विश्वस्त छु’, उहाँले भन्नुभयो ।
यस क्षेत्रको विकासका लागि विभिन्न पहलहरू गर्नुपर्ने खाँचो रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री खड्काले खासगरी २०७५ सालमा छोटी भन्सारबाट मूल भन्सारमा स्तरोन्नति भएको सत्ती भन्सार कार्यालया आवश्यक जनशक्ति, ल्याब सहितको क्वारेन्टाइन, सडकको सहज पहुँच लगायतका व्यवस्था मिलाउन जरुरी रहेको बताउनुभयो । टीकापुर कृषि उत्पादनका लागि पनि ठुलो सम्भावना भएको क्षेत्र हो ।
यहाँ केराको पकेट क्षेत्र स्थापनाका लागि पहल हुन आवश्यक रहेको उहाँको धारणा थियो । कर्णाली नदीको सनकट्टी घाटमा पुल निर्माणका लागि ठेक्का भएकोमा यसका लागि आवश्यक बजेटको व्यवस्था गरी निर्माण कार्यलाई शीघ्रातिशीघ्र पूरा गर्न सके यसबाट कैलाली र बर्दिया दुवै तिरका जिल्लावासीलाई आवत-जावतमा ठुलो सहयोग पुग्नेछ भन्दै उहाँले चिसापानी–कुइने हुँदै सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्ला जोड्ने भरपर्दो सडक सञ्जालको निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग–व्यापार, शिक्षा, कला, संस्कृति र पर्यटनको प्रचार-प्रसार र प्रवर्द्धन गरी यस क्षेत्रको आर्थिक सामाजिक विकासमा टेवा पुर्याउने उद्देश्यका साथ टीकापुर उद्योग–वाणिज्य संघको आयोजनामा २०६५ सालदेखि महोत्सव आयोजना हुँदै आएको छ । महोत्सवमा प्रदर्शनीमा राखिने यस क्षेत्रका कृषि तथा औद्योगिक उत्पादनहरूले आम उपभोक्तामाझ ती वस्तुहरूलाई चिनाउन र तिनको आन्तरिक तथा बाह्य बजार विस्तार गर्न समेत मद्दत पुग्नेमा उपप्रधानमन्त्री खड्काले विश्वास व्यक्त गर्नुभयो ।
‘महोत्सवले यस क्षेत्रमा उत्पादन भई अरू प्रदेशमा तथा देशबाहिरसमेत निकासी गर्न सकिने बहुमूल्य वस्तुहरूको पहिचान र प्रवर्द्धन गर्न तथा तिनको बजार विस्तार गर्न समेत मद्दत पुग्ने देखेको छु । महोत्सवको आयोजनाले टीकापुरलाई शैक्षिक नगरीका रूपमा स्थापित गर्न समेत ठुलो सहयोग पुग्ने कुरामा कुनै शङ्का छैन,’ उहाँले भन्नुभयो ।
महोत्सवले सुदूरपश्चिमको कला, संस्कृति, पर्यटनको प्रवर्द्धनमा योगदान पुग्नुका साथै यस क्षेत्रका विभिन्न समुदायका संस्कृति, परम्परा र साहित्यको जगेर्ना एवं विकास गर्न समेत ठुलो सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै भारतबाट आउने धार्मिक पर्यटकहरुलाई कैलाश मानसरोवर जोड्ने नाकाका रूपमा टीकापुरलाई विकास गर्न सके यसबाट यस क्षेत्रको पर्यटन उद्योगको विकासमा उल्लेख्य सहयोग पुग्ने उपप्रधानमन्त्री खड्काले उल्लेख गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्