जनता टाइम्स

२८ पुष २०८०, शनिबार १७:४७

चन्द्रागिरि कार दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो


हेटौंडा, २८ पुस । थानकोट-चित्लाङ सडक खण्ड चन्द्रागिरि नगरपालिका–४ सेतो पहरामा निजी कार दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । महानगरीय प्रहरी वृत्त थानकोटाका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार चार जनाको घटनास्थलमै र एब बालकको उपचारको क्रममा बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो ।

काठमाडौंबाट चित्लाङ जाँदै गरेको बा प्र–०१–०२३ च ६९८५ नम्बरको फोर्ड गाडी शनिबार दिउँसो अनियन्त्रित भएर दुर्घटना भएको थियो। गाडीमा सवारी ६ जनामध्ये एक जना भने हाम फालेर बच्न सफल भएका छन् । दुर्घटनामा काठमाडौं–३० मैतीदेवीका ६७ वर्षीय ओमकारनिधि तिवारी, उनकी पत्नी ६४ वर्षीया कल्पना तिवारी, ज्वाइँ काठमाडौं–२ का महेशकुमार गौतम, उनका छोराछोरी क्रमशः ६ वर्षीया स्मारिका र ४ वर्षीय प्रियन्सको मृत्यु भएको हो ।

घाइते स्मारिकाको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । चालक महेशकुमारकी पत्नी सृष्टि तिवारी गौतम गाडीबाट हामफालेर बाँच्न सफल भएकी छन् । कार सडकबाट करिब ६ सय मिटर तल खसेको थियो । शनिबार उनीहरू चित्लाङ घुम्न आएको हुन सक्ने प्रहरीले जनाएको छ ।