जनता टाइम्स

२८ पुष २०८०, शनिबार १८:४१

अत्तरियामा कुटपिटबाट एक जनाको मृत्यु, ६ जना पक्राउ


धनगढी, २८ पुस । गोदावरी नगरपालिकाको अत्तरिया बजारमा रहेको दोहरी साँझमा कुटपिटमा परि एक जनाको ज्यान गएको छ । २५ गते बुधबार राति कुटपिटमा परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५, गुलरियाका ४२ वर्षीय श्याम देउवाको मृत्यु भएको हो ।

२५ गते राति दोहरी साँझमा कुटपिटमा परेका देउवालाई परिवारका सदस्यले राति नै उपचारका लागि धनगढी स्थित निसर्ग हस्पिटलमा ल्याएका थिए । गम्भीर चोट लागेका उहाँको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले बताउनुभयो ।

देउवाको अस्पतालमा मृत्यु भएपछि मात्रै परिवारले घटना बारे प्रहरीलाई बताएको प्रवक्ता चन्दले बताउनुभयो । देउवाको ज्यान गएपछि उनको परिवारले इलाका प्रहरी कार्यालय मालाखेतीमा जाहेरी दिएको थियो । कैलाली प्रहरी प्रवक्ता चन्दले घटनाको अनुसन्धान भइरहेको बताउनुभएको छ । उहाँले अनुसन्धानका लागि शनिवारसम्म ६ जनालाई नियन्त्रणमा लिएको बताउनुभएको छ ।