जनता टाइम्स

२९ पुष २०८०, आईतवार १९:५३

भारत लैजान लागेका दुई किशोरीको उद्दार


बर्दिया, २९ पुस । दुई किशोरीलाई ललाई फकाई भारत लैजाँदै गरेको अवस्थामा आज गुलरिया–११ गणेशपुर नाकाबाट प्रहरीले उद्दार गरेको छ । उनलाई उद्धार गर्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । साना हातहरू नेपालको सक्रियतामा प्रहरीले दुई किशोरीको उद्धार गरेको हो ।

नेपाल भारत सीमाको गणेशपुरबाट भारतको लौकाहीतर्फ शंकास्पद रुपमा मोटरसाइकलमा जाँदै गर्दा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । बाँकेको जानकी गाउँपालिकाकी १५ वर्षीया र बर्दिया बढैयाताल गाउँपालिकाकी १६ वर्षीया किशोरीलाई भारत लैजान लागेको अवस्थामा उद्दार गरिएको बर्दिया प्रहरीका प्रवक्ता डिएसपी तिलकराम अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाँके कोहलपुर–७ का २६ वर्षीय लालबहादुर पुन, बैजनाथ गाउँपालिकाका प्रेमबहादुर विक र जानकी गाउँपालिका–६ का अंकित कुमार लोनियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरु विरुद्ध मानव बेचबिखनको मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ ।