जनता टाइम्स

१ माघ २०८०, सोमबार १८:१६

नेपालगञ्जमा नवौं राष्ट्रिय योग दिवश सम्पन्न


नेपालगञ्ज, १ माघ । ‘गरौ योग रहौ निरोग’ भन्ने मूल नाराका साथ ९औं राष्ट्रिय योग दिवश २०८० नेपालगञ्जमा मनाइएको छ । योग समिति नेपालको आयोजनामा नेपालगञ्ज उपमहानगरसंगको सहकार्यमा सो दिवश मनाईएको हो । योग समिति नेपालका अध्यक्ष तथा योगगुरु डा. गिरिराज भट्टराईले नियमित योग विनाको जीवनशैली अब कल्पना पनि गर्न नसकिने बताउदै नेपालगञ्जका विभिन्न स्थानमा नियमित योग गराउँदै योग संस्कृतिको विकास गर्दै आएको बताउनुभयो ।

उहाँले योगकर्म राज्यको प्राथामिकतामा नपरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो,‘योगकोृ महत्व बुझेर पनि राज्यले नबुझैँ गरेको छ । मात्र औपचारिकतामा योगको कुरा गरेर हुँदैन यसलाई त व्यवहारमा उर्तान सक्नु पर्छ जुन राज्यको निकायबाट हुन सकेको छैन ।’ पछिल्लो समय योग नसर्ने रोगका लागि बरदान सावित हुदै गएको अवस्थामा राज्यले योग शिक्षालाई विद्यालय तहसम्म पढाई हुने गरी लैजानु पर्ने उहाँको माग छ ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले मानव जीवनलाई स्वस्थ, सन्तुलित, तन्दुरुस्त र सुन्दर बनाउन योग अपरिहार्य रहेको बताउनुभयो । नेपालगञ्ज उपमहानगरले नगरवासीलाई योगको महत्व बुझाउन समितिसंग सहकार्य गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘योगको महत्व नगरवासीलाई बुझाउनको लागि नगरका वडावडामा योगका लागि कार्यक्रम छुट्टाईएको छ । योगले निरोगी बन्न सहयोग गर्ने भएकोले पनि यो सबैले अवलम्बन गर्न आवश्यक छ ।’ सो अवसरमा नरैनापुर गाउँपालिकाका अध्यक्ष मो ईस्तियाक अहमद शाहले नियमित योगले मात्र मानव जीवन स्वस्थ रहन सक्ने कुरामा जोड दिदै आफ्नो दैनिक जीवनको केही समय योगका लागि छुट्ट्याएर स्वस्थ जीवनशैली अपनाउन आग्रह गर्नुभयो ।

उहाँले नरैनापुर गाउपालिकामा पनि योगको कार्यक्रम सञ्चालन गरिदै आएको बताउनुभयो । योग समिति नेपालले घरघरमा टोलोटोलमा योग पुर्याउन २ सय १५ जना प्रशिक्षक उत्पादन गरी विभिन्न ७ वटा जिल्लामा जिल्ला समिति तथा विभिन्न २७ स्थानमा योग केन्द्र सञ्चालनमा ल्याई निशुल्क योग शिविर समेत सञ्चालन गर्दै आएको योग प्रशिक्षक झवीलाल शर्माले जानकारी दिनुभयो ।