जनता टाइम्स

१ माघ २०८०, सोमबार १८:५२

सामूहिक बलात्कारमा परेकी १४ वर्षीया बालिका प्रदेश अस्पताल रिफर


मुगु, १ माघ । सामूहिक बलात्कारमा परेकी मुगुको छाँयानाथ रारा नगरपालिका–१४ की बालिकालाई प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको छ । स्वास्थ्य सेवा कार्यालय गमगढी मुगुमा उपचार सम्भव नभएपछि अस्तालको एकद्वार संकट ब्यवस्थापन केन्द्र (ओसिएमसी) अन्तर्गत उनलाई प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ ।

कार्यालयका अनुसार बलात्कारमा परेकी बालिका यही पुस २० गते जिल्ला अस्पताल मुगुमा चेकजाँच गर्न आएकी थिइन् । अस्पतालमा उपचार सम्भव नभएपछि (ओसिएमसी) कार्यक्रम अन्तर्गत बालिकालाई पुस २३ गते प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको स्वास्थ्य सेवा कार्यालय मुगुकी सिनियर अनमी रामदेवि केसिले बताउनुभयो । बालिका अहिले प्रदेश अस्पतालको (ओसिएमसी) अन्तर्गत फाँटमा रहेकी छन् ।

छायाँनाथ रारा नगरपालिका–५ कार्कीवाडाका छाँयानाथ रारा नगरपालिकामा कार्यरत नगर प्रहरी ३० वर्षीय बसन्त बहादुर कार्की, कृषि विकास कार्यालय गमगढी मुगुमा कार्यरत कार्यालय सहयोगी सोरु गाउँपालिका–८ आँसिधाराका २२ वर्षीय बसन्त रोकाया र अन्य केही १४ वर्षका बालकले १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेका थिए ।

सामूहिक बलात्कारमा परेकी बालिकाको गर्भमा बच्चामासमेत रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक (डिएसपि) बिरेन्द्र बहादुर थापाले बताउनुभयो । १४ वर्षका बालकहरूले गत १६ भदौमा आफूमाथि बलात्कार गरेका र १० असोजमा नगर प्रहरी बसन्त कार्कीसहित बसन्त रोकाया र पदम बहादुर कठायतले बलात्कार गरेको पीडित बालिकाले बयानमा बताएकी प्रहरीले जनाएको छ ।

पीडित बालिकाको भनाइ उद्धृत गर्दै प्रहरी नायव उपरीक्षक थापाले भन्नुभयो,‘१४ वर्षका किशोरहरूले गएको भदौ १६ गते बेलुका आफ्नो कोठामा भेट्न बोलाएपछि उनी सोही दिन बेलुका अन्दाजी ९ बजेको समयमा उनीहरूको गमगढीस्थित कोठामा भेट्न गएको र ६ जनाले जवरजस्ती करणी गरेको बताएकी छन् ।’ बलात्कारबाट पेट दुख्नेजस्ता समस्याहरू भएपछि जिल्ला अस्पताल मुगुमा चेकजाँच गराउँदा आफ्नो पेटमा गर्भ रहेको कुरा थाहा पाएको पीडित बालिकाले बताएकी छन् ।

नगर प्रहरीसहितले गरेको सामूहिक बलात्कारबारे पीडित युवतीले प्रहरीलाई बयान दिएकी छन्, ‘असोज १० गते राति अन्दाजी ९ बजेको समयमा नगर प्रहरी बसन्त बहादुर कार्कीले आफू बस्ने डेरा बाहिर आई आफू एकछिन काम छ बाहिर आऊ त नानी भन्दै आफ्नो हात समाई आफूसँगै हिँड भनी कृषि विकास कार्यालयको भवनको एक कोठामा लगि उक्त कोठामा पुग्नासाथ नगर प्रहरी बसन्त कार्की, बसन्त रोकाया र पदम बहादुर कठायतले आफूलाई विभिन्न खालका प्रलोभन, डर त्रास देखाई पालैपालो बलात्कार गरेका बयान दिएकी छन् ।’