जनता टाइम्स

१ माघ २०८०, सोमबार १९:००

सुख्खा पहिरोमा परेर दोलखामा एक जनाको मृत्यु, दुई घाइते


दोलखा, १ माघ । दोलखामा सुख्खा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ। घटनामा दुई जना घाइते भएका छन् । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरबाट लप्ची जाने सडक निर्माण कार्य गर्ने क्रममा सुख्खम पहिरो खसेको थियो ।

लामाबगरबाट लप्चि जाने सडक निर्माणको क्रममा खसेको सुख्खा पहिरोमा पुरिएर बिगु गाउँपालिका वडा नम्बर–१ का २२ वर्षीय कुसुङ तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । पहिरोमा पुरिएर सोही स्थान बस्ने ५८ वर्षीय रसमान तामाङ र २८ वर्षीय दिलकुमार तामाङ घाइते भएका छन् ।

लामावगर–लप्चि सडक खन्ने क्रममा देउराली भन्ने स्थानमा दिउँसो करिब ३ बजे नासा हाइड्रो पावरमा कार्यरत उनीहरूमाथि पहिरो खसेको हो ।

सडक खन्ने क्रममा सडकको माथिल्लो भागबाट सुख्खा पहिरो खसेको र उनीहरूलाई पुरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुख्खा पहिरोका कारण घटनास्थलतर्फ जाने सडक र बाटो अवरुद्ध भएको थियो । मौसम प्रतिकुलताका कारण हेलिकोप्टर समेत जान नसक्दा घाइतेको उद्धारमा कठिनाई भएको छ ।