जनता टाइम्स

३ माघ २०८०, बुधबार १४:१२

वाणिज्य बैंक शिवगन्जबाट एउटाको एटिएम अर्कैले लगेर पैसा निकालेपछ…


झापा, ३ माघ । राष्ट्रिय वाणिज्य बैंक शिवगन्ज झापामा एक जना ग्राहकले जम्मा गरेको रकम दोस्रो व्यक्तिले झिकेको विषयले अहिले बैंकका कर्मचारीलाई तनाव दिएको छ । दुबै पक्षबीच सहमति भइसकेको विषयमा पुनस् प्रचार(प्रसार भएको भन्दै बैंकले स्पष्टोक्ति दिएको छ ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ६ की आशाकुमारी राजवंशीले जम्मा गरेको रकममध्ये ३ लाख ४३ हजार रकम गौरीगञ्ज–१ देवीगडाका दिपेन्द्रकुमार राजवंशीले झिक्नुभएको थियो । उहाँले झिकेको रकम पीडितको खातामा स्थानीय प्रशासन, राजनीतिक दलका नेता, जनप्रतिनिधि र समाजका अगुवाको रोहवरमा ब्याजसहित फिर्ता गर्नुभएको थियो ।

रकम फिर्ता गर्दा दुबै पक्षबीच कुनै मनमुटाव नगर्ने भन्दै हात मिलाएर गएको राष्ट्रिय बाणिज्य बैंकका शिवगञ्ज शाखा प्रमुख घनश्याम निरौलाले बताउनुभयो । उहाँका अनुसार छलफल वाणिज्य बैंकमै भएको थियो ।

प्रहरी, जनप्रतिनिधि, राजनीतिक दलका स्थानीय तहका नेतासमेत सहभागी छलफलमा पीडकले पीडित समक्ष माफ मागेर गएपछि पुनः सञ्चारमाध्यममार्फत् बैंकको विश्वसनीयतामाथि शंका उत्पन्न गराइएको निरौलाले बताउनुभयो । ‘दुबै पक्षबीच मेलमिलाप भएर गएपछि पीडितले सकिएको घटनालाई लिएर सञ्चारमाध्यममार्फत् पुनः प्रचार गरे,’ निरौलाले भन्नुभयो ।

यसरी भएको थियो घटना

खातावाला आशाकुमारीका श्रीमान् कृष्णकुमार राजवंशी वैदेशिक रोजगारमा हुनुहुन्थ्यो । उहाँले विदेशबाट कमाएर पठाएको रकम श्रीमतीको खातामा जम्मा हुँदै आएको थियो । विदेशबाट घर आएका बेला आफ्नो खातामा कति रकम जम्मा भइसकेको रहेछ भनेर कृष्णकुमार बैंक जानुभएको थियो । उहाँलाई नगद काउन्टरबाट एक लाख ५५ हजार छ भनियो । उहाँले ‘कहाँ हुन्छ यति मात्र ? मेरो पैसा धेरै छ’ भन्नुभएको थियो ।

त्यसपछि काउन्टरका कर्मचारीले पटक–पटक गरेर एटिएमबाट नगद भुक्तानी भइसकको बताउनुभयो । उहाँले फेरि थन्नुभयो,‘मैले एटिएम लगेकै छैन, कसरी निस्कियो पैसा ?’ यो दोहोरो संवादपछि काउन्टरका कर्मचारी झस्किए । कर्मचारीले शाखा प्रमुख निरौलाको कार्यकक्षमा उहाँलाई लिएर गए । घटनाका बारेमा शाखा प्रमुखले गम्भीर चासो लिए । बैंकमा सेवाग्राहीको भिड लागेको कारण शाखा प्रमुख निरौलाले ‘अपरान्ह ४ बजेपछि तपाईंको केस हेर्छु है’ भनेर कन्भिन्स गर्नुभयो । पीडित पनि ‘हुन्छ’ भन्दै घरतिर लाग्नुभयो ।

यसरी लाग्यो पत्ता

शाखा प्रमुखले एटिएम नै नचलाउने ग्राहकको रकम गायब भएको विषय करिब १५ मिनेटमै पत्ता लगाए र रकम निकाल्ने गौरीगञ्जका दिपेन्द्रकुमार राजवंशीलाई बैंकबाट पहिलो पटक फोन गर्नुभयो । उहाँले एटिएम साटिएछ भन्दै तुरुन्त बैंकमा आउन आग्रह गर्नुभयो । यतिबेला ४ः१५ भएको थियो ।

फोनमा उहाँले पैसा निकालेको मिति र रकमबाहेक अरू कुरा भन्नुभएन । शाखा प्रमुखले सोधेको प्रश्नमा उहाँले सही जवाफ दिनुभएको थियो । जुन कुरा बैंकको स्टेटमेन्टसँग मिल्थ्यो । शाखा प्रमुखले फोनमा भन्दा दिपेन्द्रले ५ बजेसम्ममा ‘म बैंकमा आउँछु’ भनेका थिए । तर उनी आएनन् । उनी बैंकमा नआएपछि शाखा प्रमुख झन् आत्तिए । तोकिएको समयमा नआएपछि पुनः फोन गरे ।

‘सर मेरो आउने साधन छैन, म भोलि आउँछु’ भने । पहिलो पटक आउँछु र दोस्रोपटक आज आउन भ्याइनँ भनेपछि शाखा प्रमुखले इलाका प्रहरी कार्यालय शिवगञ्जमा खबर गर्नुभयो । उहाँ प्रहरी लिएर गौरीगञ्जस्थित राजवंशीको घरतिर हुइँकिनुभयो ।

शिवगञ्जको प्रहरी टोलीले ‘पछि केही पर्न सक्छ’ भनेर प्रहरी चौकी कुन्जीबारीको टोलीलाई पनि तैनाथ रहन आग्रह गरेको थियो । उक्त टोली पनि साथैमा राजवंशीको घर गयो । राति करिब ८ बजे गाउँमा सोध्दै प्रहरीसहितको टोली राजवंशीको घरमा पुगेको थियो ।

कहिलेदेखि निस्कियो रकम ?

दिपेन्द्र राजवंशीले २०८० असोज ३ गतेदेखि २०८० कात्तिक १७ गतेसम्म पटक–पटक गरेर ३ लाख ४३ हजार रुपैयाँ निकालेका थिए । कुनै दिन त पाँच पटकसम्म रकम निकालेका थिए । एकै दिन धेरै पटक रकम निकाल्दा चाहिँ दिपेन्द्रलाई यो रकम आफ्नो होइन भन्ने कुराको हेक्का हुनुपर्ने थियो । दिपेन्द्रले अघिल्लो दिन र भोलिपल्ट पनि रकम निकालेका छन् । यसरी सरसर्ती हेर्दा छोराले पठाएको रकम हो, होइन भन्ने कुरा उनलाई राम्ररी थाहा भएको हुन सक्ने बैंकले जनाएको छ ।

एउटाको एटिएम अर्कैलाई

आशाकुमारी राजवंशीको एटिएम दिपेन्द्रकुमार राजवंशीकोमा परेछ । दोस्रो व्यक्तिले एटिएम लगेको हुँदा रकम भुक्तानी भएको पाइएको निरौला बताउँछन् । यो घटनामा दिपेन्द्रकुमारले जानाजान रकम झिकेको हो वा होइन दैव जानुन् । तर, प्रहरी र बैंकका शाखा प्रमुख घनश्याम निरौलाका अगाडि उनले भूलवश रकम निकालेको बताए । ‘मेरो छोरा वैदेशिक रोजगारका लागि रोमानियामा छ । उसैले रकम पठायो भन्ने भयो र आवश्यकता अनुसार रकम निकालें ।

पैसा पठाएको छ भन्थ्यो । तिरोबारोका लागि रकम निकालेको हो,’ दिपेन्द्रकुमारले बताए । ‘बैंक कर्मचारीले एटिएमका लागि तयार गरेको नामावली एक्सल सिटमा तलमाथि परेको रहेछ । कपिपेष्ट गर्दा भूलवश एउटाको एटिएम अर्कोकोमा जान पुग्यो । हामीले त्यसबेलाको सिसीटिभी फुटेज हेर्यौं । त्यसबेला बैंकमा धेरै भिड भएकाले यो घटनालाई भूलवश भयो भन्ने हामीले ठहर गर्यौं । यो नियोजित पटक्कै होइन,’ शाखा प्रमुख निरौलाले भन्नुभयो ।

यसरी गरे फिर्ता

बैंकका शाखा प्रमुखले राजवंशीलाई २४ घन्टाभित्र यो रकम फिर्ता गर्न उर्दी गरे । उनले ‘सर यो अवधिमा सक्दिनँ’ भने । उसो भए तीन दिनमा फिर्ता गर्न अनुरोध गरे । उनले यो समय पनि छोटो भएकाले १५ दिनको समय मागे । जनप्रतिनिधि, राजनीतिककर्मी, प्रहरीसँग १५ दिनभित्रमा रकम जम्मा गर्ने उनले प्रतिवद्धता जनाए ।

उनले तीन पटकमा दोस्रो व्यक्तिको खाताबाट निकालेको रकम उनकै खाताबाट जम्मा गरे । कात्तिक २४ मा १ लाख, मंसिर ४ मा १ लाख ४० हजार र मंसिर ५ मा १ लाख ३ हजार फिर्ता गरेका थिए । यो रकम उनले चलाएबापत समाजले तोकेको ७ हजार ५ हर्जना पनि जम्मा गरिदिएका थिए ।

बैंकलाई लागेको दुख

सञ्चारमाध्यममा आएको जस्तो बैंक कर्मचारीको यो घटनामा कुनै पनि कारणले संलग्नता नभएको निरौला बताउँछन् । ‘जसले रकम झिकेर लग्यो उसैले फिर्ता गरेको छ । बैंकका कर्मचारी र बैंकको नामबाट जम्मा भएको होइन ।

यो घटनालाई जोडेर केही व्यक्तिले राजनीतिक स्वार्थपूर्तिका लागि प्रहरीमा निवेदन दिन पीडितलाई बाध्य पारिएको हाम्रो बैंकको बुझाई छ,’ निरौलाले भन्नुभयो,‘पीडितले इलाका प्रहरी कार्यालय झिलझिले र राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा उजुरी गरेका थिए । बैंकलाई नै विपक्षी बनाई निवेदन दिनुअगाडि घटनाका बारेमा बैकसँग बुझिदिएको भए बैंकको पनि स्पष्टताको अधिकार सुरक्षित हुनका साथै बेलैमा कुनै दुःख हुँदैनथ्यो ।’