जनता टाइम्स

३ माघ २०८०, बुधबार १८:३६

सुनजस्तो देखिने धातुसहित ३ जना पक्राउ


बारा, ३ माघ । जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित बिकास शिल चोकबाट सुन जस्तो देखिने पहेलो धातु करिब ६ सय ५८ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जितपुर सिमरा उपमहानगरपालिका–१८ बस्ने ५४ वर्षीय राधेश्याम माझी र गोरखा, गोरखा नगरपालिका–१ बस्ने ३८ वर्षीय यदु कुमार विक रहेका छन् ।

ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले माझीको ज्याकेटको खल्तीबाट रूमालमा लुकाई छिपाई राखेको उक्त धातु फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उता कास्कीको पोखरा महानगरपालिका–३० पावरहाउस नजिकबाट सुन जस्तो देखिने पहेलो धातु करिब १० तोला ६ लाल र नगद ३६ हजार रूपैयाँसहित पाल्पा रम्बादेबी गाउँपालिका-३ घर भई पोखरा महानगरपालिका–१ मोहोरिया टोल बस्ने २४ वर्षीय दिलिप गहतराजलाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ आउँदै गरेको लु.२ ख १२६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई २ वटा ढिक्का, २ वटा गोलो रिङ, २ वटा सानो सानो टुक्रामा राखेको उक्त परिमाणको धातुसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।