जनता टाइम्स

४ माघ २०८०, बिहीबार १५:५९

भरतपुरको गितानगरका ५८ बर्षीय न्यौपाने बेपत्ता : खोजि गरिदिन परिवारको आग्रह


चितवन, ४ माघ । भरतपुर महानगरपालिका वडा नं. ६ गितानगर निवासी ५८ वर्षीय केदारनाथ न्यौपाने बेपत्ता हुनुभएको छ । पौष २६ गते बिहान ६ बजे गितानगर घरबाट निस्किनुभएका न्यौपाने हालसम्म परिवारको सम्पर्कमा नआएको पारिवारिक स्रोतले जनाएको छ । परिवार एकदमै पिडामा रहेकोले घरपरिवार सम्झेर छिट्टै सम्पर्कमा आउन न्यौपानेकी दिदी रिता अधिकारीले आग्रह गर्नुभएको छ ।

‘दाई तपाईँ जहाँ हुनुहुन्छ, हामी त्यहीँ लिन आउछौँ तपाई जसरी भएपनि हाम्रो सम्पर्कमा आउनुहोला,’ अधिकारीले दोहोर्याउनुभयो । न्यौपानेका परिवारमा हाल एक कक्षा १० मा अध्ययनरत छोरी रसिका र श्रीमती हुनुहुन्छ । केही समय अघिमात्रै एकछोरीको विवाह भएको परिवार स्रोतले जानकारी गराएको छ ।

उहाँ हराएको दिनदेखि हालसम्म बिहान दिउसो साँझ चितवन र नवलपुर लगायत नारायणी नदी किनारका स्थानमा खोजी गर्दा पनि कत्तै फेला पर्न सक्नुभएको छैन । दिनभर विभिन्न स्थानमा खोजिकार्य गरिएपनि उहाँको अवस्था पत्ता लाग्न सकेको छैन । न्यौपानेले बोक्दै आएको मोबाइल समेत घरमै छोडेर हिँडेको हुँदा खोजी गर्न थप समस्या भएको छ ।

न्यौपाने त्रिवेणी दुग्ध सहकारी चोकबजारमा कार्यरत हुनुहुन्थ्यो । केदारनाथ न्यौपानेलाई कतै कसैले देखेमा नजिकैको प्रहरी कार्यालय वा मोवाईल नम्बर ९८४५१९४९२८,९८६७२८१३८८, ९८०१५६४८०८, ९८४६३६८५३४ मा खबर गरिदिन परिवारले अनुरोध गरेको छ ।