काठमाडौं, माघ ७ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले मुलुकमा आशाको सञ्चार गर्न देश हितमा काम गर्ने सरकार आवश्यक रहेको बताउनु भएको छ ।
राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशको प्रथम बैठकलाई सम्बोधन गर्दै नेता बस्नेतले देशमा निराशा बढेको कारण युवा विदेश पलायन भएको बताउनु भयो । सरकार र गठबन्धनका मानिसहरू कुकृत्यमा संलग्न भएको कारण देश बर्बादीतर्फ गएको बस्नेतले बताउनु भयो । त्यसैले नागरिकमा निराशा बढ्दै गएको उहाँले प्रष्ट पार्नुभयो । ‘कुनै आशा छैन यो सरकारसँग,’ बस्नेतले भन्नुभयो ।
सरकारमा रहेका व्यक्तिहरू आफ्नो स्वार्थमा मात्र केन्द्रित रहेका बस्नेतले बताउनुभयो । त्यसैले उनीहरूले अनेक रूप र रङ्ग फेरेर आफ्नो स्वार्थ पूरा गर्ने कमा गरिरहेको बस्नेतको भनाइ छ । यो कुरा जस्ताको तस्तै जनताको बिचमा लैजानु पर्नेमा उहाँले जोड दिनुभयो ।
यो गठबन्धन र सरकारबाट देशको अवस्था परिवर्तन नहुने बताउँदै बस्नेतले अवस्था परिवर्तनको लागि एमाले नै सत्तामा पुग्नु पर्ने बताउनुभयो । हिजो पनि एमाले सत्तामा पुगेको बेला देशको अवस्था परिवर्तन गरेको स्मरण गराउँदै बस्नेतले फेरी पनि एमालेले केपी ओलीको नेतृत्वमा बहुमतको सरकार बनाएर देशको अवस्था परिवर्तनको काम गर्न आवश्यक रहेको बताउनुभयो ।
बस्नेतले अहिलेको निर्वाचन प्रणालीको कारण पनि सहजै बहुमत प्राप्त हुन सक्ने स्थिति देखिएकोले निर्वाचन प्रणालीको बारेमा समेत सोच्नु पर्ने बताउनुभयो । समानुपातिक निर्वाचन प्रणालीले राजनीतिमा विकृति देखिएकोले यस विषयमा छलफल र बहर अघि बढाउन जरुरी रहेको उहाँले प्रष्ट पार्नुभयो । त्यस्तै दुई दलीय शासन व्यवस्था र नो भोटको प्रावधानका विषयमा पनि छलफल र बहस चलाउन आवश्यक रहेको बस्नेतले बताउनुभयो ।
अहिले असंख्य अपराध गरेका फण्डावाला र काण्डवाला व्यक्तिहरू राजनीतिमा आएका बताउँदै उनीहरूबाट देशको विकास र परिवर्तन सम्भव नरहेको बस्नेतले बताउनुभयो । निर्वाचनमा नो भोटको प्रावधान राख्ने हो भने यस्ता फण्डा र काण्डवाला राजनीतिबाट विस्थापित हुने उहाँको तर्क छ ।
नेकपा एमाले सामाजिक हित, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता बकेको पार्टी भएको उहाँले बताउनुभयो । हिजो माओवादीले जातीय राज्यको कुरा गर्दा नेकपा एमाले त्यसका विरुद्ध दृढ रूपमा उभिएको उहाँले प्रष्ट पार्नुभयो । नेकपा एमाले र सो पार्टीका अध्यक्ष केपी शर्मा ओली सदैव राष्ट्रिय एकताको पक्षमा उभिएको उहाँले बताउनुभयो ।












प्रतिक्रिया दिनुहोस्