जनता टाइम्स

८ माघ २०८०, सोमबार १०:०६

उच्च अदालतले बदर गर्यो पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति


काठमाडौं, माघ ८ । पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर भएको छ । उच्च अदालतले कार्यकारी निर्देशक पुनको नियुक्ति बदर गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा गत पुस ४ गते बसेको पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को बैठकले पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

कार्यकारी निर्देशक पदमा नियुक्तपश्चात पुनको योग्यता र मापदण्डको विषयलाई लिएर गौश्वाला क्षेत्रमा विरोधसमेत भएको थियो । माओवादी केन्द्रकी केन्द्रीय सदस्य पुन पार्टीको तर्फबाट समानुपातिक उम्मेदवारसमेत हुनुहुन्थ्यो ।

कार्यकारी निर्देशक पुनविरुद्ध पुस २६ गते भरत मरासिनीले नियुक्ति खारेज गर्न माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गर्नुभएको थियो । आइतबार उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले मरासिनीको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको हो । आदेशमा कोषको निर्णय कार्यान्वयन नगर्न भनिएको छ ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशकका लागि आवश्यक मापदण्ड नपुगेको कारण देखाएर अदालतले नियुक्ति खारेज गरेको हो ।