जनता टाइम्स

९ माघ २०८०, मंगलवार ०७:३३

क्रोएसिया र ओमान पठाइदिन्छु भन्दै लाखौं ठगी गर्ने नटवरलाल पक्राउ


काठमाडौं, माघ ९ । वैदेशिक रोजगारीका लागि क्रोएसिया र ओमान पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देही घर भई काठमाडौं बस्ने २९ वर्षीय अजय र रविन थापा भनेर चिनिने कोषराज नेपाली तथा सिन्धुपाल्चोक घर भई काठमाडौं बस्ने उज्वलराज पाण्डे छन् ।

नेपालीले प्रेमबहादुर खत्री सहितलाई वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाईदिने, त्यसका लागि प्रतिव्यक्ति ८ लाख रुपैयाँ लाग्ने र क्रोएसिया पुगेपछि मासिक १ लाख ३० हजार रुपैयाँ तलब हुने प्रतिष्ठित कम्पनीमा काम लगाइदिने प्रलोभन देखाएका थिए । त्यसपछि पीडितबाट पटकपटक गरेर १० लाख रुपैयाँ लिइ नेपाली सम्पर्कबिहीन भएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले नेपालीलाई माघ ५ गते काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ९ बाट पक्राउ गरेको हो ।

नेपालीले अजय थापा र कोषराज नेपालीको नामबाट नेपाली नागरिकता बनाएको देखिए र धेरै मानिसलाई विभिन्न नामबाट ठगेको हुन सक्ने भन्दै कार्यालयले कोही ठगिएको भए उजुरी दिन समेत आग्रह गरेको छ ।

उज्वलराजले विवेक सुनार समेत ३ जनालाई वैदेशिक रोजगारीको लागि ओमन पठाईदिने, त्यसका लागि प्रतिव्यक्ति २ लाख ५० हजार रुपैयाँ लाग्ने र ओमन पुगेपछि मासिक ६० हजार तलब हुने प्रतिष्ठित कम्पनीमा काम लगाइदिने भन्दै पीडितबाट ५ लाख ३० हजार रुपैयाँ रकम लिई सम्पर्कबिहीन भएका थिए । उनलाई माघ ७ गते काठमाडौंको बौद्धबाट पक्राउ गरिएको कार्यालयले जनाएको छ ।

उनीहरु दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको पनि कार्यालयले जनाएको छ ।