जनता टाइम्स

१० माघ २०८०, बुधबार १३:३३

आगजनी भएको हनुमान मन्दिरमा गुन्जियो जय श्रीरामको नारा


रौतहट, १० माघ । रौतहटको संसदीय निर्वाचन क्षेत्रको नेतृत्व गरिरहेका संघीय संसद किरणकुमार साह इशनाथ नगरपालिकास्थित जटहरा गाउँछेउ अज्ञात समूहले आगजनी गरेको हनुमान मन्दिर र ब्रह्म स्थानमा पुग्दा जय श्रीरामको नारा गुन्जिएको छ । सांसद साह आफ्ना समर्थकसहित इशनाथ–५ जटहारा गाउँछेउ सामुदायिक स्कुलको प्राङ्गणमा रहेको हनुमान मन्दिर र विद्यालयको १०० मिटर पछाडि रहेका ब्रहमस्थानमा बुधवार बिहान पुग्दा हजारौं मानिस जम्मा हुनुभएको थियो ।

हातहातमा धार्मिक झण्डा बोकेका हिन्दू धर्मका समर्थकहरु जय श्रीराम को नारा लगाउँदै धार्मिक आस्था माथि कुठाराघात गर्ने अपराधी लाई अविलम्ब पक्राउ गर्न माग गर्नुभएको छ । रौतहट क्षेत्र २ का सांसद किरण साहले जम्मा भएका हजारौं मानिसलाई शान्त रहन आग्रह गर्दै दोषीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन त्यहाँ पुगेका एसपी महेन्द्र कुमार श्रेष्ठ लाई अनुरोध सहित निर्देशन दिनुभएको थियो ।

बिद्यालय छेउमा रहेको मन्दिरमा हनुमानजीको मूर्ति र ब्रह्मस्थानमा कसैले पराल राखेर आगो लगाएको छ । आगलागीबाट हनुमानको मुर्ति र ब्रह्मस्थानमा क्षति पुगेको छ । जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले घटनाको पुष्टी गर्नुभएको छ । कसैले पराल राखेर गएराती दुवै मन्दिरमा आगजनी गरेको देखिन्छ घटनाबारे स्थानीयले आज बिहान देखेर प्रहरीलाई खबर गरेका थिए ।

लगत्तै जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठ र सशस्त्र प्रहरी प्रमुख एसपी माधव रेग्मी सहितको टोली घटनास्थल पुगेको तथा छानबिन सुरु गर्नुभएको छ । सामाजिक सद्भाव बिगार्न यस्ता आराजक गतिबिधि गर्ने दोषीलाई खोजतलास गरी कडा भन्दा कडा कारबाही गर्न स्थानीयले प्रहरी प्रशासनसंग जोरदार माग गरेका छन् ।

आगलागीबाट क्षतिग्रस्त भएको हनुमानजीको उक्त मूर्ति २५ बर्ष अघि भारतको राजधानी दिल्लीबाट ल्याएर स्थापना गरिएको स्थानीयले जानकारी गराएका छन् । रौतहटको क्षेत्र–२ अन्तर्गत बिगत लामो समयदेखि दुई समुदायबीच बिभिन्न बिषयमा पटक–पटक बिवाद हुँदै आएको छ । उक्त क्षेत्रमा धार्मिक बिवाद लिएर शान्ति सुरक्षा कायम राख्न प्रहरी प्रशासन लाई पनि ठूलो चुनौती हुनेगर्दछ ।