जनता टाइम्स

११ माघ २०८०, बिहीबार ११:०१

मनकारी रत्न, जो निरन्तर गरिरहेछन बिरामीको उपचारमा सहयोग


काठमाडौं, माघ ११ । आर्थिक अभाव झेल्दै काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराइरहेका बिरामीलाई समाजसेवी तथा एमाले नेता रत्नप्रसाद गौतमले निरन्तर आर्थिक सहयोग गरिरहनुभएको छ ।

रामेछापबाट उपचारका लागि काठमाडौं आई आर्थिक अभाव झेलिरहनुभएका बिरामीलाई गौतमले उपचारको लागि सहयोग गर्दै आउनुभएको छ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–६ स्थायी घर भएका गौतमले सोही क्रममा बुधबार एकैदिन तीन जना बिरामीको उपचारको लागि सहयोग गर्नुभएको छ । गौतमले मन्थली नगरपालिका–२ का दुईजना र दोरम्बा शैलुङ गाउँपालिका–६ का एकजना बिरामीलाई बुधबार उपचारको लागि आर्थिक सहयोग गर्नुभएको हो ।

गौतमले मन्थली–२ का मुकुन्दप्रसाद सुवेदी र दिलबहादुर तामाङको उपचारको लागि जनही १९ हजार रुपैँयाका दरले सहयोग गर्नुभएको छ । उहाँहरू क्रिष्ट हस्पिटल र ट्रमा सेन्टरमा उपचार गराइरहनु भएको छ । गौतमले सहयोग गर्नुभएको रकम मन्थली नगरपालिका–२ वडाध्यक्ष सुरेन्द्र कार्कीले बिरामीलाई हस्तान्तरण गर्नुभयो ।

त्यस्तै भक्तपुर अस्पताल कौशलटारमा उपचार गराइरहनुभएका दोरम्बा शैलुङ–६ का नेत्रबहादुर थापा मगरलाई गौतमले उपचारको लागि ३० हजार रुपैँया आर्थिक सहयोग गर्नुभएको छ । थापा मगर शरीरमा सेतो रगतको मात्रा कमी भएपछि उपचार गराइरहनु भएको छ । उहाँलाई पनि अस्पतालमा नै पुगेर सो रकम प्रदान गरिएको हो ।

गौतमले रामेछापबाट काठमाडौं उपचारको लागि आएर खर्च अभाव भएका सयौँ यस्ता बिरामीलाई आर्थिक सहयोग गरिरहनु भएको छ । राज्य नागरिकप्रति उत्तरादायी नभएको अवस्थामा सानो सहयोगले पनि कसैको ज्यान बच्ने भएकोले आफूले सकेको सहयोग गर्दै आएको गौतमले बताउनुभयो । गौतमले दुई महिनाभित्रै करिव एक सय जनालाई सहयोग गरिसक्नु भएको छ ।