जनता टाइम्स

११ माघ २०८०, बिहीबार २२:४०

राहुल महराको सपना अधुरै, थुनामै राख्ने जिल्लाको आदेश सदर


काठमाडौं, माघ ११ । उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको छ।

न्यायाधीश द्वय अन्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले आज जिल्ला अदालतकै आदेश सदर गरेको हो।

सुन तस्कर प्रकरणमा पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहनु भएका माओवादी केन्द्रका नेता महराका छोरा राहुल महरा अहिले पनि पुर्पक्षका लागि कारागारमा रहेका छन्।

उक्त प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले निजलाई पक्राउ गरेको थियो। महरालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामै राख्ने आदेश गरेको थियो।

जिल्ला अदालतको उक्त आदेशविरुद्ध महरा उच्च अदालतमा गए पनि जिल्लाकै आदेश सदर भएको हो। महराविरुद्ध आपराधिक विश्वासघात, भन्सार चोरीपैठारी र सङ्गठित अपराधमा अभियोग कसुर लगाइएको छ।