जनता टाइम्स

१२ माघ २०८०, शुक्रबार १२:३६

सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको अर्थमन्त्रीको स्वीकारोक्ति


काठमाडौं, माघ १२ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व उठाउन नसकेको स्वीकार गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय भन्सार दिवसको सन्दर्भमा आज विहान काठमाडौंमा भएको कार्यक्रममा अर्थमन्त्री महतले यस्तो स्वीकारोक्ति गर्नुभएको हो । उहाँले राजश्वको दृष्टिकोणबाट सरकार अझै पनि धेरै दबाबमा रहेको बताउनु भयो ।

राजश्वमा केही वृद्धि भएपनि सरकारले लक्ष्यअनुसार राजस्व उठाउन अर्थमन्त्री महतको भनाई छ । उहाँले राजश्व संरचनामा परिवर्तनका कारण समेत लक्ष्यअनुसार संकलन हुन नसकेको बताउनु भयो ।

‘अहिले हामी राजश्वको दृष्टिकोणबाट धेरै दबाबमा छौँ । राजश्व केही वृद्धि भएको छ, तर हामीले जुन लक्ष्य निर्धारण गरेका थियौँ, त्यो अनुसार हुन सकेको छैन,’ अर्थमन्त्री महतले भन्नुभयो, ’त्यो नहुनुको कारण एउटा त राजश्व संरचनामा परिवर्तन आइरहेको छ । डिजिटल युगमा संसारै अगाडि बढेको छ । यो डिजिटलाइजेशन सँग–सँगै अब ट्रान्जेक्शन व्यवसाय गर्ने शैली परिवर्तन भइसकेको छ । सरकारले पनि तौरतरिकालाई बदल्नुपर्ने देखिएको छ ।’

अर्थमन्त्री महतले डिजिटल प्रविधि र अनलाइनबाट भइरहेका व्यवसायबाट कर संकलन गर्न नसकेको तथ्य राख्नुभयो । ’डिजिटलाइजेसनमा आधारित ठुलो बजार खडा भइसकेको छ । तर त्यहाँ आन्तरिक राजस्व कार्यालयले केही गर्न सकेको अवस्था छैन,’ भन्सार कार्यालयले पनि आफूलाई अपडेट गर्नुपर्ने अवस्था आएको छ,’ अर्थमन्त्रीको भनाई छ ।

अर्थमन्त्री महतले पछिल्लो समयमा राजस्व कम हुनुमा डिजेल र पेट्रोल गाडीको प्रयोग कम हुनुलाई समेत उदाहरणकारुपमा नाम लिनुभयो । ’हामी डिजेल÷पेट्रोल गाडी आयात गर्थ्यौं, त्यसबाट ठुलो राजस्व जम्मा हुन्थ्यो । तर अहिले इभीको प्रयोग बढेको छ । र इभी नेपालमै बनिरहेको छ,’ यसबाट मात्रै पनि सरकारी ढुकुटीमा राजस्वको करिब ३४÷३५ अर्व रुपैयाँ कम भएको देखिन्छ,’ अर्थमन्त्री महतले भन्नुभयो । उहाँले अनलाइन प्रणालीलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न जरुरी आवश्यकतासमेत औल्याउनु भयो ।