जनता टाइम्स

१२ माघ २०८०, शुक्रबार १८:०५

ढोरपाटनका मेयर नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी


काठमाडौं, १२ माघ । बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी भएको छ । ठगी प्रकरणमा नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयले मेयर नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी गरेको हो ।

रेड नोटिस जारी भएसँगै प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलका १९६ सदस्य राष्ट्रले अब नेपालीको खोजी गर्नेछन् । उनी भेटिएको अवस्थामा इन्टरपोलले पक्राउ गरेर नेपाल फिर्ता पठाउने छ । बाग्लुङको इमेज बचत तथा ऋण सहकारीका अध्यक्ष समेत रहेका नेपालीले बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेको छ ।

नेपालीसँगै सहकारीका कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन सुनार, सञ्चालक चित्रबहादुर भण्डारी, सदस्य रुपा विक र झगबहादुर शाही प्रहरीको खोजी सूचीमा रहेकोमा कोषाध्यक्ष लक्ष्मीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार ललितपुरको धोबिघाटबाट पक्राउ गरेको थियो । सरिता तिमल्सेना (कँडेल) सहितको जाहेरीको आधारमा ८ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।