काठमाडौं, १३ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले आफ्नो लोकतान्त्रिक चरित्र गुम्न दिन नहुने बताए। कांग्रेस चितवनका नेताहरूसँग शनिबार भएको भेटघाटमा नेता महरले गठबन्धनका नाममा अहिले भइरहेको राजनीतिक अभ्यासले दलीय र लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाइरहेको टिप्पणी गर्नुभयो ।
‘कांग्रेस मुलुकको सबै भन्दा ठूलो लोकतान्त्रिक पार्टी हो । लोकतान्त्रिक चरित्रकै कारण मुलुक अप्ठ्यारोमा पड्दा सधैँ कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ। तर, गठबन्धनका नाममा भइरहेको राजनीतिक अभ्यासले दलीय र लोकतान्त्रिक अभ्यास कमजोर हुन्छ । यसतर्फ कांग्रेस चनाखो बन्नैपर्छ,’ महरले भन्नुभयो ।
गठबन्धन गरिसकेपछि जनतामा आसाको ज्योति छर्न सक्नुपर्नेमा त्यो हुन नसकेको उहाँले बताउनुभयो । गठबन्धनले जनतामा आसा भन्दा पनि निराशा बढेको उहाँको टिप्पणी छ । ‘गठबन्धन दल होइन, यो दलहरू मिलेर बनेको अलाइन्स हो। गठबन्धनको काम र यो खालको राजनीतिक अभ्यासप्रति जनता सन्तुष्ट छैनन्। हामीले देश र जनताका लागि राजनीति गर्ने हो। त्यसैले जनभावना अनुरूप दलहरू अगाडि बढ्नुपर्छ,’ उहाँले भन्नुभयो ।
राम्रो काम गर्दा जनताले आफैँ बहुमत दिने र गठबन्धनको आवश्यकता नै नपर्ने महरले बताउनुभयो । कुनै विशेष परिस्थितिमा गठबन्धन गर्नु पर्ने अवस्था आउनु सामान्य भए पनि लामो समयसम्म गठबन्धनकै संस्कृति कायम राख्ने राजनीतिमा गलत संस्कारको विकास भइरहेको उहाँको भनाइ छ । गठबन्धन जनताको लागि भन्दा पनि केही निश्चित नेताहरूको लाभका लागि भइरहेको महरको आरोप छ ।
‘गठबन्धन गरेर केही नेतालाई पदमा पुर्याउने र खराब कार्यमा संलग्न भइरहेकाहरूलाई बचाउन सरकार चाहिएको पो हो कि भन्ने जनताले शंका गरिरहेको तसर्थ यस्तो गठबन्धनको के काम । गठबन्धनका माध्यमबाट संवैधानिक निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न नदिने खालका काम गर्नु राम्रो होइन,’ उहाँले भन्नुभयो ।
यस्ता सबैखाले घटनाक्रमलाई मध्यनजर गर्दै कांग्रेसले गठबन्धन गर्न नहुने उहाँले बताउनुभयो । अब कांग्रेसले एक्लै चुनाव लडेर बहुमततर्फ उन्मुख हुनका लागि पार्टीलाई बलियो बनाउने बेला आएको उहाँको भनाइ छ । महरले कांग्रेसले लोकतान्त्रिक चरित्रको जगेर्ना गर्न आवश्यक रहेको औंल्याउनुभयो ।
प्रतिक्रिया दिनुहोस्