विराटनगर, १४ माघ । सेवा गर्ने मन भएपछि प्रशस्त धन सम्पत्ति चाहिँदैन भन्ने उदाहरण प्रस्तुत गरेका छन्, मोरङको लेटाङ–९ जाँतेका शिवशक्ति बाबा भनिने सुजन कुमार पूर्वछाने मगरले । मगरको दैनिकी औसत मानिस जस्तै चल्ने गर्छ । उहाँ झारफुक गर्ने गर्नुहुन्छ । सोही झारफुकबाट जम्मा भएको रकम उहाँ समाजसेवामा खर्च गर्नुहुन्छ ।
शुक्रबार उहाँले लेटाङ–९ जाँतेको शिक्षा ज्योति आधारभूत विद्यालयका ३५ जना विपन्न बालबालिकालाई पोशाक वितरण गर्नुभयो । लेटाङ–९ का वडाध्यक्ष नन्दप्रसाद खतिवडा, वडासदस्यहरू विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला राई लगायतको उपस्थितिमा उहाँले ४० हजार रुपैयाँ बराबरको विद्यालय पोशाक वितरण गर्नुभएको हो ।
माघको ठिहीमा फाटेको एकसरो लुगा लगाएर विद्यालय गइरहेको विद्यार्थी देखेपछि उहाँको मनमा दया लाग्यो । त्यसपछि उहाँले १०ः२० रुपैयाँ गरेर जम्मा गरेको रकमबाट विद्यार्थीलाई पोशाक दिनुभयो । ‘मसँग केही छैन । विपन्न नानीहरू त्यो पनि दलित र जनजाति समुदायको बाहुल्यता रहेछ ।
त्यसैले सानो सहयोग स्वरुप पोशाक वितरण गरेको हुँ,’ उहाँले भन्नुभयो । पोशाक वितरण कार्यक्रममा देखिएका अधिकांश विद्यार्थीको लुगा च्यातिएको थियो भने खुट्टामा चप्पलसम्म थिएन । उहाँले भन्नुभयो,‘कम्तीमा एउटा झोला र एक/एक जोर जुत्ता वितरणको वातावरण मिलाउन मन छ, हेरौं भगवानको कति आशिर्वाद रहन्छ ।’












प्रतिक्रिया दिनुहोस्