जनता टाइम्स

१४ माघ २०८०, आईतवार १९:३६

गठबन्धनका घिमिरेलाई हराउँदै एमालेका सुवेदी अध्यक्षमा विजयी


रामेछाप, १४ माघ । रामेछाप सदरमुकाम मन्थलीमा सञ्चालित मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा एमालेका उज्ज्वल सुवेदी निर्वाचित हुनुभएको छ । गठबन्धनबाट अध्यक्षका उम्मेदवार नवराज घिमिरेलाई ५ मतले हराउँदै नेकपा एमालेका सुवेदी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

निर्वाचित सुवेदीले ६० मत प्राप्त गर्दा गठबन्धनका घिमिरेले ५५ मत मात्रै प्राप्त गर्नुभएको छ । १२२ जना मतदाता रहेकोमा ११५ जनाले क्याम्पसको नयाँ सञ्चालक समिति चयनका लागि मतदान गर्नुभएको थियो । क्याम्पस सञ्चालक समितिको सदस्यहरूमा भने सबै गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ ।

सदस्यहरूमा गठबन्धनका रामचन्द्र अधिकारी, नवीन केसी, युवराज सुवेदी, दीपक राज प्रसाईँ निर्वाचित हुनुभएको छ । गठबन्धनका सबिना घिमिरे काफ्ले निर्विरोध निर्वाचित भइसक्नुभएको छ । क्याम्पसमा अध्यक्ष, एक महिलासहित ६ जना निर्वाचित, ४ जना मनोनीत र ९ जना पदेन सदस्य सहित १९ जनाको सञ्चालक समिति रहने व्यवस्था छ ।