जनता टाइम्स

१५ माघ २०८०, सोमबार २१:४५

सांसद कान्छाराम तामाङले १५ करोड हिनामिना गरेको रामेछापेलीको आरोप


काठमाडौं, १५ माघ । संघीय सांसद् पूर्वबहादुर तामाङ (कान्छाराम)ले १५ करोड ३२ लाख बढी रकम हिनामिना गरेको आरोप लगाइएको छ । २८ करोड १२ लाख भन्दा बढीको ठेक्कामा १५ करोड ३२ लाख भन्दा बढी रकम लिएर सडकको कालो पत्रे नगरिकन अलपत्र पारेको भन्दै उपभोक्ताहरुले कडा संघर्षका कार्यक्रम गर्ने चेतवानी दिएका छन ।

सत्ता गठबन्धनको तर्फबाट रामेछाप जिल्लाको प्रतिनिधित्व गर्दै संघिय सांसद निर्वाचित तामाङले जिल्ला सदरमुकाम मन्थली, चिसापानी पुरानागाउँ सडक खण्डको सात किलोमिटर कालोपत्रे गर्ने ठेक्का २०७६–०७७ मा ठेक्का आह्वान भई एमएस कान्छाराम कन्ट्रक्सनले कामको जिम्मा लिएको थियो तर उहाँले जम्मा २ किलो मिटरमात्र कालोपत्रे गरेर अन्य काम आजसम्म नगरेको नागरिक सरोकार तथा संघर्ष समिति मन्थली रामेछापले आज राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रम गर्दै जानकारी गराएको हो ।

नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका तामाङ गत निर्वाचनमा रामेछापमा नेपाली कांग्रेसको तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्दै आउनु भएको छ । उहाँ क श्रेणीका ठेकेदार समेत हुनुहुन्छ । उहाँले जिम्मा लिएका अधिकांश ठेक्काहरु पुरा नभएका गुनासाहरु ठाउँ ठाउँबाट नआएका भने होइनन ।

यो कालो पत्रे २०७८ पुससम्म सम्पन्न गर्ने गरि सम्झौता भएको थियो । स्थानीय सरोकारवालाहरू र ठेकेदारका प्रतिनिधिवीच भौतिक पूर्वाधार विकास कार्यालय रामेछापमा पटक-पटक काम सम्पन्न गर्ने लिखित सम्झौता हुदाँसमेत काममा तदारुकता नदेखाएको भन्र्दै स्थानीयले संघर्ष समिति नै गठन गरेका छन । संघर्ष समितिलाई समर्थन गर्दै एमालेले एक विज्ञप्तीसमेत निकालेको छ ।