जनता टाइम्स

१६ माघ २०८०, मंगलवार १७:५०

केपी ओली नेपालको सर्वाधिक प्रतिभाशाली नेता : विद्यादेवी भण्डारी


काठमाडौं, १६ माघ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली नेपालको समकालीन राजनीतिको सबैभन्दा प्रभावशाली नेता भएको बताउनुभएको छ । आज काठमाडौंमा संसद्मा केपी शर्मा ओली पुस्तकको विमोचन गर्दै भण्डारीले ओलीले नेपाली राजनीतिमा शीर्षस्थान बनाउन सफल हुनुभएको बताउनुभयो ।

ओली समकालीन राजनीतिमा कुशल पहिचान बनाउन सफल भएको भण्डारीको भनाइ छ । ‘यस पुस्तकका नायक केपी शर्मा ओलीज्यू समकालीन राजनीतिक नेताहरूमा कुशल पहिचान बनाउनुभएको नेता हुनुहुन्छ, सर्वाधिक प्रतिभाशाली नेताका रूपमा उच्च स्थान प्राप्त गर्न सफल हुनुहुन्छ’, भण्डारीले भन्नुभयो । ओली नेपाली कला, साहित्य, संस्कृति, धर्म, दर्शन र विज्ञान लगायतका विषयमा समेत गहन ज्ञान भएको नेता भएको भण्डारीले टिप्पणी गर्नुभयो ।

ओली सबैका लागि प्रेरणा र ज्ञानको स्रोत भएको उहाँले बताउनुभयो । संसद्मा ओलीले गरेको भाषण राजनीतिक हिसाबले मात्र नभएर विधागत ज्ञानका दृष्टिकोणले पनि महत्त्वपूर्ण रहेका उहाँले बताउनुभयो । त्यसैले सो पुस्तक पठनीय र ग्रहणीय ग्रन्थ भएको उहाँको भनाइ छ । सो पुस्तक इतिहास अध्ययन गर्न चाहने भावी पुस्ताका लागि महत्त्वपूर्ण हुने भण्डारीले बताउनुभयो । उहाँले पुस्तक एतिहासिक दस्ताबेज बन्ने प्रष्ट पार्नुभयो ।