काठमाडौं, १७ माघ । अध्यागन अधिकृत नरवीर खडकाले प्रहरीसंग दिएको बयानमा भिजिट भिषामा पठाउँदा पुरुष भए १० देखि १५ हजार र महिला भए ४० देखि ५० हजार लिने गरेको बताउनु भएको छ । सेटिङमार्फत भिजिट भिसामा जानेलाई सहजीकरण गर्न त्रिवि अध्यागमन कार्यालयमा कर्मचारीको छुट्टै टीम (समिति) रहेको पाइएको प्रहरीले बताएको छ । सो कार्यमा संलग्न आरोपमा पक्राउ परेका र फरारहरूविरुद्ध मुद्दा दायरको तयारी भइरहेको छ ।
अध्यागमन अधिकृत नरवीर खड्काले बयानको क्रममा भिजिट भिसामा पठाएबापत प्राप्त हुने रकम त्यो टीममा रहेकाले बाँडेर लिने गरेको कागज गर्नुभएको छ ।
उनले त्यो टीममा कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकाश डंगोल, पिताम्बर रिमाल, सुजन फागोलगायत रहेको बताउनुभएको छ ।
खड्काका अनुसार सेटिङमा जाने मान्छे खोज्ने जिम्मा एन्ड होलिडेज एन्ड ट्राभल्सका सञ्चालक सरोज यादवलगायतले लिएको र उहाँहरूले नै पैसा उठाएर बुझाउने गर्नुभएको थियो ।
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका ७ जना अध्यागमन अधिकृतसहित २२ जनालाई प्रतिवादी बनाएर अभियोग पत्र दायर गर्दैछ । प्रतिवादी बनाइएका सबै अधिकृत फरार छन् ।
प्रतिक्रिया दिनुहोस्