काठमाडौं, १९ माघ । घुससहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई विशेष अदालतले १ वर्ष कैद र ६ लाख रुपैयाँ जरिवाना असुल्ने फैसला गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उपसचिव नेपाललाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको हो ।
यही प्रकरणमा पक्राउ परेका हरिभक्त श्रेष्ठलाई भने अदालतले सफाइ दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ साउनमा काठमाडौंबाट नेपाल र श्रेष्ठलाई पक्राउ गरेको थियो ।
घुसबापत सेवाग्राहीबाट बुझेको ६ लाख र आफू चढेको गाडीमा थप साढे १६ लाखसहित अख्तियारले उपसचिव नेपाललाई पक्रेको थियो । एक व्यवसायीले प्याराग्लाइडिङ सेवा सञ्चालनका लागि अनुमतिपत्र लिन पर्यटन मन्त्रालयमा आवेदन दिएका थिए । तर रकमको मोलमोलाइ गरेर उपसचिव नेपालले फाइल थन्काइदिएपछि ती सेवाग्राहीले पैसा दिएर काम अगाडि बढाएकोमा घुस लिँदालिँदै पक्राउ गरेको थियो ।













प्रतिक्रिया दिनुहोस्