जनता टाइम्स

१९ माघ २०८०, शुक्रबार २०:३४

जनताको निराशालाई आशामा परिणत गराउन कांग्रेस समुदायमा आएको हो : महामन्त्री थापा


रौतहट, १९ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीहरूप्रति बढ्दै गएको निराशालाई चिर्न ग्रास रुटमा बसोबास गर्ने आम नागरिकको समस्यालाई बुझेर समाधानको प्रयासमा कांग्रेसले समुदायमा जाने अभियान सञ्चालन गरेको बताउनुभयो । आम नागरिकमा निराशा रहेको बताउँदै उनले यस्तो अवस्थामा पार्टीप्रति वितृष्णा बढ्दै गएकाले त्यो चिर्नुपर्ने बताउनुभयो ।

समुदायमा जान मेचीदेखि महाकालीसम्मको यात्रा प्रारम्भ गरेर जनताको कुरा बुझ्ने प्रयास गर्नुका साथै सम्बोधन गर्ने अभियानमा आफूसहितका शीर्ष नेताहरू जनताहरूसँग संवाद गरेर हिँडेको स्पष्ट पार्नुभयो । नागरिकद्वारा उठाइएको कुराको जवाफ दिँदै महामन्त्री थापाले मधेशको प्रमुख समस्या भनेको कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधारको समुचित रुपमा सम्बोधन र व्यवस्थापन नभएको हुँदा जनताहरुमा निराशा छाएको हुँदा उक्त निराशालाई चिर्ने प्रयास कांग्रेसले गर्ने उहाँले प्रष्ट पार्नुभयो ।

‘कुनै पनि पूर्वाधार समयमा पुरा नहुनु निकै विडम्बनापूर्ण रहेको बताउँदै नेपाली निर्माण व्यवसायी कतारमा काम गर्दा ६ महिना वर्ष दिन नवित्दै पुरा गर्छन्। तर, त्यही निर्माण व्यवसायीहरू नेपालमा किन गर्न सक्दैनन्,’ उहाँले भन्नुभयो । पूर्वाधारको कार्यमा कानुन अप्ठ्यारो भए सांसदहरूले कानुनलाई परिवर्तन गरेर पूर्वाधारको कार्यलाई खुकुलो बताउनु पर्ने बताउनुभयो ।

मधेशका किसानलाई सिंचाईको सुविधा नरहेको हुँदा सुनकोशी मरिन डाइभर्सनलाई पुरा गराएर बागमती, कमला लगायतका नदीहरूमा पानीको बहाव तीव्र बनाइ त्यसबाट निस्किएका नहरलाई सुचारु गराई सिंचाईको पूर्ण सुविधा दिन कांग्रेसले जोड दिएको उहाँको भनाइ छ ।

शिक्षाको स्तर सुधारी कुशल व्यवसायी, दक्ष प्राविधिक, दक्ष जनशक्तिको उत्पादन भएमा मात्रै विकसित मुलुक बन्ने ठोकुवा गर्नुभयो । संघीय सरकार, प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी रहेको हुँदा आफ्नो एकमात्र मिशन २०८० सालमा जनताको निराशालाई आशामा परिणत गराउदै मिशन ८४ लाई नेपाली कांग्रेसमय बनाउने अभियानमा कांग्रेसले जनजनको आवाजलाई सहित ढंगबाट सम्बोधन गरेरअघि बढ्मा मात्रै पुरा हुने बताउनुभयो ।