जनता टाइम्स

२१ माघ २०८०, आईतवार १७:४८

पूर्वऊर्जामन्त्री पुनद्वारा घोराही–खुंग्री १३२ केभी प्रसारण लाइनको निरीक्षण


रोल्पा, २१ माघ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वऊर्जा, जलश्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुन अनन्तले निर्माणाधीन घोराही–खुंग्री १३२ केभी प्रसारण लाइनको निरीक्षण गर्नुभएको छ । रोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका पुनले आज खुंग्रीस्थित आयोजना स्थल पुगेर आयोजनाका कर्मचारी र निर्माण कम्पनीका प्रतिनिधिसँग कामको प्रगतिबारे जानकारी लिनुभयो ।

आयोजनाको हालसम्मको प्रगति सन्तोषजनक रहेको भन्दै पुनले यही रफ्तारमा काम भए पूर्वनिर्धारित समयसीमाभित्रै काम सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । आयोजनाका कर्मचारी तथा निर्माण पक्षका प्रतिनिधिसँग पुनले जिल्लाबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने नप्रतिनिधि र पूर्वविभागीय मन्त्रीका हैसियतले आयोजना समयमै सम्पन्न गर्न आवश्यक सहयोग तथा सहजीकरणका लागि तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।

‘ऊर्जामन्त्री भएका बेला मैले नै अघि बढाएको योजना भएकोले पनि मेरो यसमा चासो छ’, उहाँले भन्नुभयो, ‘प्रसारण लाइन निर्माणका क्रममा कुनै समस्या आइपरे मलाई जानकारी गराउन्स्, सबै प्रकारणको सहयोगका लागि तयार छु ।’ रोल्पा, रुकुम र प्यूठान हालसम्म पनि केन्द्रीय प्रसारण लाइनमा नजोडिएका कारण उक्त आयोजनाबाट ती तीन जिल्लाले लाभ लिने उहाँको भनाइ थियो ।

प्रसारण लाइन निर्माणपछि सो क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित बिजुली लान राष्ट्रिय प्रसारणमा जोडिने र राष्ट्रिय प्रसारणको बिजुली ती जिल्लामा ल्याउन सकिने भएका कारण आयोजना महत्वपूर्ण रहेको पुनले बताउनुभयो । हाल घोराही–खुंग्री १३२ केभीको प्रसारण लाइन निर्माणको काम धमाधम भइरहेको छ । घोराहीदेखि खुंग्रीसम्म ४० किलोमिटर लामो प्रसारण लाइन निर्माण हुन्छ ।

एसियाली विकास बैंकको २ अर्ब लगानीमा निर्माण निर्माण हुन लागेको उक्त प्रसारण लाइनसम्बन्धी निर्माण सम्झौतामा २४ पुस २०७९ मा हस्ताक्षर भएको थियो । भारतीय कम्पनी केइसी इन्टरप्राइजेजले सम्झौताअनुसार १ फागुन ०७९ बाट काम थालेको हो । ३० महिना अर्थात १५ भदौ २०८२ मा प्रसारण लाइन निर्माणको काम सम्पन्न गरी बिजुली चार्ज गर्ने सम्झौतामा उल्लेख छ ।

हालसम्म १५ प्रतिशत भौतिक प्रगति भइसकेको उक्त प्रसारण लाइन आयोजनाका इन्जिनियर प्रदीप खत्रीले जानकारी दिनुभयो । रोल्पामा जग्गा अधिग्रहणको काम सकिएको तथा दाङ र प्यूठानको पनि जग्गा अधिग्रहणका लागि सूचना प्रकाशित भएर प्रक्रिया अघि बढेको खत्रीले बताउनुभयो ।

खुंग्री–बाफीकोट १३२ केभीको ठेक्का सम्झौता हुँदै

खत्रीका अनुसार ७५ किलोमिटर लामो खुंग्री–बाफीकोट १३२ केभी प्रसारण लाइन निर्माणको पनि छिट्टै टेण्डर हुँदैछ । टेण्डरका लागि प्रारम्भिक सूचना प्रकाशित भइसकेको र इच्छुक कम्पनीहरुले आवेदन दिइरहेको जानकारी उहाँले दिनुभयो । उक्त प्रसारण लाइन निर्माणपछि रुकुमपश्चिमको भेडाखेतमा निर्माण हुन लागेको २ सय मेवागाटको जलविद्युत आयोजना राष्ट्रिय प्रसारणमा जोडिनेछ ।

यस्तै रोल्पाको खुंग्री र लुंग्रीमा दुई जलविद्युत आयोजना निर्माणको सम्भाव्यता अध्ययन सकिएको छ । उक्त प्रसारण लाइन निर्माणपछि रोल्पा, प्यूठान र दुवै रुकुमका हजारौं सर्वसाधारण दिगो विद्युत सेवाबाट लाभान्वित हुने विश्वास नेपाल विद्युत प्राधिकरणको छ ।

राष्ट्रिय प्रसारण लाइन नजोडिएका कारण रोल्पा र रुकुममा प्यूठानको झिमरुक शव स्टेशनबाट ल्याइएको ३३ केभी प्रसारण लाइनको बिजलुी मात्र उपलब्ध हुँदै आएको थियो । जसका कारण ती क्षेत्रमा मझौला तथा ठूला उद्योग सञ्चालनको सम्भावना थिएन ।