काठमाडौं, २१ माघ । काठमाडौंको सडकमा बेहोस अवस्थामा भेटिएका एक जनाको निधन भएको छ । काठमाडौंको गोठाटारमा कृषि फार्म सञ्चालन गर्ने युवक बिहीबार गोठाटारकै सडकमा राति १२ बजेतिर बेहोस अवस्थामा फेला पर्नुभएको थियो । त्यसरी फेला पर्नेमा ३३ वर्षीय दिलीप कट्टेल रहनुभएको छ ।
उहाँको आज वीर अस्पतालमा मृत्यु भएको हो । उहाँ मादक पदार्थ सेवन गरेको अवस्थामा फेला परेको बानेश्वर प्रहरी प्रमुख डीएसपी शिवराज बुढाथोकीले जानकारी दिनुभयो । प्रहरीले उनीसँगै बसेर मादक पदार्थ सेवन गरेका चार युवालाई घटनाबारे सोधपुछ गर्न नियन्त्रणमा लिएको छ ।
प्रहरीको नियन्त्रणमा रहेका युवाहरू मृतक कट्टेलकै साथी हो । कट्टेल बेहोस हुँदा उनका साथीहरू कहाँ थिए भन्नेबारे सोधपुछ गर्न प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ । मृतकको शरीरको बाहिरी भागमा भने कुनै चोट देखिएको छैन । पोस्टमार्टम रिपोर्ट आएपछि प्रहरीले थप अनुसन्धान गर्ने जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्