जनता टाइम्स

२९ माघ २०८०, सोमबार १३:५६

उपकुलपति छनोट नियम संगत छ : शिक्षा राज्यमन्त्री


काठमाडौं, २९ माघ । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट नियम संगत भएको दाबी गर्नुभएको छ । आज बसेको संसदको शिक्षा समितिको बैठकमा उहाँले नियमसंगत त्रिविको उपकुलपति छनोट गरिएको दाबी गर्नुभएको हो ।

उपकुलपति छनोटका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको संयोजकत्वमा गठित सिफारिस समितिमा कसैका विरुद्ध उजुरी नपरेको उहाँले जानकारी दिनुभयो । समितिले मन्त्री राईलाई बोलाएको भएपनि राज्यमन्त्री कुमारी जानुभएको हो ।

उपकुलपतिका लागि दरखास्त माग गर्दा परेको ४३ जनाको आवेदनमध्ये १४ जनाको सर्टलिस्ट सार्वजनिक गरिएको छ । सर्टलिस्टमा परेका १४ जनामध्ये केही व्यक्तिको नाममा विवादमा परेपछि समितिले आज शिक्षामन्त्री राईलाई डाकेको थियो । तर, समिति बैठकमा शिक्षा राज्यमन्त्री प्रमिला कुमारी उपस्थित हुनुभएको हो ।