जनता टाइम्स

४ फाल्गुन २०८०, शुक्रबार १०:२६

गौरिका सिंह र एलेक्सले बनाए नयाँ राष्ट्रिय कीर्तिमान


दोहा, फागुन ४ । कतारको दोहामा जारी वल्ड एक्वाटिक्स च्याम्पियनसिप दक्षिण एशियाली खेलकुदमा चार स्वर्ण जित हात पारेकी गौरिका सिंहले आफ्नो पुरानो रेकर्डलाई तोडनु भएको छ ।

गौरिकाले ५० मिटर ब्याकस्ट्रोकमा जापाजको फुकुवाकामा भएको वर्ल्ड एक्वाटिक्स च्याम्पियनसिप २०२३ मा कायम गरेको ३१.४४ सेकेन्ड समयमा ०.६४ सेकेन्डले सुधार गर्दै ३०.८० सेकेन्डको नयाँ रेकर्ड स्थापित गर्नुभएको हो ।

जलपरीको उपनामले परिचित गौरिकाको यो दोश्रो राष्ट्रिय कीर्तिमान हो । उहाँले १०० मिटर ब्याकस्ट्रोकमा पनि १ मिनेट ५.४७ सेकेन्डको नयाँ कीर्तिमान कायम गर्नुभएको थियो ।

यस्तै सोही च्याम्पियनसिपमा सहभागिता जनाइरहेका एलेक्सजेन्डर शाहले पनि आफ्नो पुरानो राष्ट्रिय कीर्तिमानमा सुधार गर्दै नयाँ कीर्तिमान कायम गर्नुभएको छ । १०० मिटर फ्रिस्टायलमा एलेक्सले ५२.१७ सेकेन्डको समयको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेको दोहाबाट नेपाल पौडी संघका अध्यक्ष अशोक रत्न बज्राचार्यले जानकारी दिनुभयो ।

यसअघि एलेक्सले जापानको फुकुवाकामा भएको वर्ल्ड एक्वाटिक्स च्याम्पियनसिप २०२३ मा ५२.९४ सेकेन्ड समयको राष्ट्रिय रेकर्ड राख्नुभएको थियो ।