जनता टाइम्स

४ फाल्गुन २०८०, शुक्रबार १४:११

कांग्रेस महासमिति बैठकमा नैनसिंह महरको फरक प्रस्ताव आउने


काठमाडौं, ४ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले महासमितिमा पेस गरिने तीन वटा प्रस्ताव ल्याइएकोमा असन्तुष्टि जनाउनुभएको छ । आज केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्दै उहाँले उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक प्रस्ताव तयार पारेर बिहीबार केन्द्रीय समितिमा पेस गरेको प्रति असन्तुष्टि जनाउँदै ती प्रस्तावको स्वामित्व लिन नसकिने बताउनुभयो ।

महरले प्रस्तावहरू केन्द्रीय सदस्यहरूसँगको छलफलबिनै तयार पारिएकोमा असन्तुष्टि जनाउनुभएको हो । पार्टीका तर्फबाट केन्द्रीय समितिमा आएका प्रस्तावहरू ल्याउँदा समितिको निर्णय भने पनि आजसम्म संयोजक बाहेक केन्द्रीय सदस्यसँग छलफल नभएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । ‘यो भन्दा अघिल्ला सभापतिज्यूको कार्यकालमा केन्द्रीय सदस्यहरूलाई पनि जिम्मा दिने गरेको तर यस पटक पदाधिकारी भन्दा तल झरेको छैन । यी प्रस्तावको हामीले स्वामित्व लिन सक्दैनौं,’ महरले भन्नुभयो ।

उहाँले गठबन्धनको विपक्षमा समेत धारणा राख्नुभएको छ । कांग्रेसलाई जनतामाझ स्थापित गर्न गठबन्धनको आवश्यकता नरहेको महरले बताउनुभयो । निर्वाचनमा कुनै ठाउँमा विशेष परिस्थितिले गठबन्धन गरिए पनि त्यसलाई संस्कारकै रूपमा विकास गर्न नहुने उहाँको धारणा छ । चुनावअघिको गठबन्धन अब स्वीकार्य नहुने उहाँको भनाइ छ । उपसभापति खड्काले तयार पारेको नीति प्रस्तावमा इतिहासका कुरा मात्रै आएको उहाँले टिप्पणी गर्नुभयो ।

‘नयाँ कुरा खोइ?,’ उहाँको प्रश्न छ, ‘कांग्रेसले जीवन उपयोगी मानवतावादी शिक्षाको नीति लिनुपर्छ ।’ शिक्षा पनि नैतिकतामा आधारित मानवतावादी हुनुपर्नेमा आफू प्रस्ट रहेको उहाँको भनाइ छ । उहाँले महामन्त्री थापाको प्रस्तावमा सभापतिलाई अझै बलियो बनाउने उल्लेख गरिएकोमा विमति राख्नुभएको छ । ‘महामन्त्रीको सांगठनिक प्रस्तावमा पार्टीका विभिन्न निकायमा सभापतिले मनोनीत गर्ने कुरामा मेरो विमति छ । समाजवादी र माओवादीसमेत निर्वाचनमा केन्द्रित भएको बेलामा पूर्ण निर्वाचित समिति बन्नेतिर पो हामी जानुपर्छ,’ उहाँले थप्नुभयो ।

महरले कांग्रेसको नीतिमा युवा रोजगारका विषय समेटिनुपर्ने पनि बताउनुभयो । अहिले देशमा भविष्य छैन भन्दै दिनहुँ हजारौं युवा विदेशी रहेको परिस्थितिलाई कांग्रेसले नजरअन्दाज गर्न नहुने महरले बताउनुभयो । उहाँले महामन्त्रीले बिहीबार पेस गरेको प्रतिवेदनमा फरक मत राख्दै लोकतन्त्र आफैँमा पूर्ण हुने भएकाले सम्पूर्णतः लोकतन्त्र भनिरहन आवश्यक नहुने बताउनुभयो ।

यसका साथै महरले पार्टीबाट सरकारमा सहभागी मन्त्री र सरकारको कार्यप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाँले सरकार पदासीनहरूका लागि मात्र भएको र पार्टीका लागि प्रभावकारीहरूमा काम गर्न नसकेको बताउनुभयो । नेता महरले पार्टीका सबै तहका समितिहरू पूर्णरूपमा निर्वाचित हुनुपर्ने व्यवस्था नीतिमै गर्नुपर्ने धारणा राख्नुभयो । ‘चार वर्ष केन्द्रको कार्यकाल विधानले नै भनिसकेपछि चार वर्ष पुगेको दिन महाधिवेशन हुने व्यवस्था गर्नुपर्छ। पार्टी र सार्वजनिक क्षेत्रमा ५० प्रतिशत महिला समावेशीको उचित प्रयोग गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।

यस्तो गर्न सकेमात्र पार्टी बलियो हुने उहाँले बताउनुभयो । महाधिवेशन प्रतिनिधिका लागि सबै निर्वाचित भएर आउने व्यवस्था गरिनु पर्ने महरको माग छ । उहाँले तल्लो तहका समितिबाटै माथिसम्म पार्टीको चुनावमा टिम निर्माण गर्न नपाउने व्यवस्था गरे गुटको अन्त्य हुने धारणा राख्नुभएको छ । समाजवादी र माओवादीसमेत निर्वाचनप्रति केन्द्रित रहेको समयमा कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले निर्वाचनलाई अवलम्बन नगर्नु दुखद भएको उहाँको धारणा छ ।

पार्टीमा आबद्ध व्यक्तिलाई अवसरको न्यायोचित वितरण गर्नु पर्ने बताउनुभयो । ‘एक व्यक्तिले जहिले पनि अवसर पाउने अरूले अवसर नै नपाउने अवस्था आएमा पार्टीप्रति वितृष्णा पैदा हुन्छ। त्यसैले एक व्यक्तिलाई बढीमा तीन पटकसम्म एक ठाउँमा अवसर दिनुपर्छ। सधैँ उही व्यक्तिलाई अवसर दिइरहनु उपयुक्त हुँदैन । नयाँ व्यक्तिले अवसर पाउँदा नवीन सोचका साथ काम गर्छन् ,’ उहाँले भन्नुभयो ।

कांग्रेस केन्द्रीय कार्यसमितिमा महामन्त्रीको प्रस्तावविरुद्ध फरक मत राखेका महरले महासमिति बैठक (नीति महाधिवेशन) मा पनि फरक प्रस्ताव ल्याउने तयारी गरेका छन् । ‘बाँकी कुरा म महासमिति बैठकमै लिखित रूपमा राख्छु,’ उहाँले भन्नुभयो । कांग्रेसले यही फागुन ७ देखि १० गतेसम्म महासमिति बैठक गर्दैछ ।