बुटवल, फागुन ५ । सहकारीका बचतकर्ताको झण्डै सवा एक अर्ब रकम हिनामिना गरेको आरोपमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापक पक्राउ परेका छन ।
बचतकर्ताको उजुरीपछि सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाई पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । अध्यक्ष गुरुङलाई बिहीबार र पाण्डेयलाई शुक्रबार पक्राउ गरी अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।
सो कार्यालयका प्रमुख डिएसपी विजयराज पण्डितका अनुसार दुवै जनालाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । दुर्गा लामो समय बुटवलस्थित केन्द्रीय कार्यालयमै कार्यरत हुनुहुन्थ्यो।
यो सहकारीका संस्थापक अध्यक्ष गितेन्द्र बहादुर (जिबी) राई हुन् । जिवी २०७८ सम्म अध्यक्ष हुनुहुन्थ्यो । २०७८ सम्म गुरुङ उपाध्यक्ष हुनुहुन्थ्यो । रुपन्देही लगायत आसपासका जिल्लाका १० हजार ३९१ जना बचतकर्ताहरुको एक अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना भएको भन्दै बचतकर्ताहरुले प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका थिए ।
संस्थापक अध्यक्ष एवं संरक्षक जिबी राई सम्पर्कविहीन छन। सुप्रिम सहकारीबाट गोर्खा मिडिया नेटवर्कले साढे १० करोड रुपैयाँ ऋण लिएको छ ।
प्रतिक्रिया दिनुहोस्